काठमाडौं । चन्द्रागिरि नगरपालिकाले विभिन्न सहकारीहरुबाट ऋण लिनेलाई निर्धारित समयभित्र साँवा व्याज तिर्न आग्रह गरेको छ । एक सूचना जारी गर्दै नगरपालिकाले सहकारी संस्थाहरुबाट ऋण लिई तोकिएको समयसीमा भित्र सो को साँवा व्याज चुक्ता गर्न आग्रह गरेको हो । पटक पटक ताकेता गर्दा समेत ऋण चुक्ता नगरेकाले सहकारी धरापमा परेको र वचतकर्ताको वचत फिर्ता गर्न समस्या परेको भन्दै सहकारी संस्थाहरुले नगरपालिकासँग सहयोग मागे पछि नगरपालिकाले यस्तो सूचना जारी गरेको हो ।

हाल समाजमा ऋण तिर्न नपर्ने वा नतिर्ने भन्नेजस्ता वित्तीय अराजकता यदाकदा फैलिएको देखिएको पनि नगरपालिकाले ठहर गरेको छ । नगरपालिकाले कोही कसैले आफूले लिएको ऋण तिर्नु नपर्ने भन्ने कल्पना मात्र गरेको भए त्यो आफैका लागि प्रत्युत्पादक हुने र त्यसले आफूलाई नै हानि हुने पनि जनाएको छ ।

कसैले बदनियतपूर्ण तरिकाले ऋण नतिरेको भए त्यस्ता गतिविधि नियन्त्रण गर्न हदैसम्मको कठोर कानूनी कारबाही गर्ने पनि चन्द्रागिरि नगरपालिकाले चेतावनी समेत दिएको छ । चन्द्रागिरि नगरपालिकाको नियमन क्षेत्राधिकारभित्रका सहकारी संस्थाहरुका सम्पूर्ण ऋणी सदस्यहरुलाई समयमै ऋणको साँवा, व्याज र किस्ता भुक्तानीका लागि अनुरोध गर्दै अटेर गर्नेलाई संघीय सहकारी ऐन, २०७४ को दफा ८३ र ८४ बमोजिम जायजेथाबाट असुली गर्ने बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय