
मधेस प्रदेशका मुख्यमन्त्रीमा जनमत पार्टीका सतिशकुमार सिंहले प्रदेश प्रमुखसमक्ष आफ्नो दाबी पेस गरेका छन्। नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा उनले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्। १०६ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५४ जना सांसदको समर्थन आवश्यक पर्छ।
सिंहले ६ दलका ५५ जना सांसदको समर्थन सहित सिंहले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी समक्ष मुख्यमन्त्री दाबी गरेका हुन। बिहीबार नै मुख्यमन्त्रीमा दावी पेस गर्ने तयारी भएपनि दलहरुबीच मन्त्रालय भागबण्डामा सहमति हुन नसक्दा मुख्यमन्त्री दाबी गर्न ढिलाइ भएको थियो। बिहीबार बिहान ११ बजेदेखि मन्त्रालय बाँडफाटका लागि सुरू भएको बैठकमा राति करिब डेढ बजेमात्र सहमति भएको थियो।



नेकपा एकीकृत समाजावदीले अर्थ वा भौतिक पूर्वाधार विकासमध्ये एक सहित तीन र एकरएकजना सांसद भएका फोरम र नागरिक उन्मुक्ति पार्टीले समेत ठूला मन्त्रालयमा दाबी गरेपछि सहमति जुटाउन दलहरुलाई हम्मेहम्मे परेको थियो। अन्ततः नागरिक उन्मुक्तिले श्रम तथा यातायात र फोरमले गृह तथा संचार मन्त्रालय पाउने सहमति भएको बैठकमा सहभागी एक नेताले बताए।
उनका अनुसार माओवादीले अर्थ र उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालय पाएका छन्। त्यस्तै एकीकृत समाजवादीले भूमी व्यवस्था कृषि तथा सहकारी र उर्जा सिँचाई तथा खानेपानी मन्त्रालाय पाएको हो। त्यस्तै एमालेले भौतिक पुर्वाधार, स्वास्थ्य तथा जनसंख्या, शिक्षा तथा संस्कृति र खेलकुद तथा समाज कल्याण गरी चारवटा मन्त्रालय पाएको छ।
जनमत पार्टीले तत्काल वन तथा वातावरण मन्त्रालय मात्रै पाएको छ। उसले थप एउटा मन्त्रालय पछि पाउने सहमति छ। मधेस प्रदेशमा अहिले ११ वटा मन्त्रालय छ। नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवका अनुसार आज नै मधेस भवनस्थित कभर्ड हलमा मुख्यमन्त्री र मन्त्रीहरुको शपथग्रहण हुनेछ।मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि नयाँ मुख्यमन्त्रीका लागि शुक्रबार बिहान १० बजेसम्म दाबी पेस गर्न आह्वान गरिएको थियो।