बारा जिल्लामा प्रतिबर्ष लागुऔषधको कारोवार बढ्दै गइरहेको छ । पूर्व–पश्चिम लोकमार्गको ५६ किमी र त्रिभुवनराजपदको ३२ किमी खण्ड ओगटेको बारा जिल्लामा राजमार्ग हुँदै लागुऔषध ओसारपोसार वर्षेनी बढेको छ । पछिल्लो समय लागुऔषध कारोवारी पक्राउ परेको तथ्याङ्कले पनि जिल्ला लागुऔषधको ‘ट्रान्जिट प्वाइन्ट’ का रुपमा प्रयोग हुँदै आएको देखिएको छ ।

तीन वर्षको अवधिमा जिल्लामा लागुऔषधको मुद्दा वृद्धि भइरहेको जिल्ला प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ । जिल्लामा दर्ता हुने कूल मुद्दामध्ये लागुऔषधको मुद्दा तेश्रो स्थानमा रहेको छ भने प्रहरीले लागुऔषध प्रयोगकर्ता पक्राउको क्रमले पनि जिल्लामा लागुऔषध प्रयोगकर्ता बढिरहेको देखाएको छ ।

बारा जिल्लाका सीमावर्ती क्षेत्र बिहारका बजारबाट लुकाइछिपाई लागूऔषध बारा भित्र्याउने र यहाँबाट राजधानी लगायत मुलुकका विभिन्न ठाउँमा आपूर्ति हुँदै आएको छ भने बाराबाट ठुलो परिणाममा गाँजा भारत लगिने गरेको पाईएको छ ।

नेपालमा प्रतिबन्धित लागू औषधहरू भारतका सीमावर्ती बजारहरूमा खुलमखुला रूपमा खरिदबिक्री हुनु र खुला सीमाका कारण यसको कारोबारमा नियन्त्रण गर्न प्रहरीलाई समेत टाउको दुखाइ बनेको छ । जसका कारण बाराका बजारमा लागूऔषध सेवनकर्ता र कारोबारको ‘ट्रान्जिट प्वाइन्ट’ बनेको छ  ।

भरतीय सीमावर्ती विभिन्न बजार क्षेत्रका केही किराना, औषधि पसल तथा झुपडीहरूमा अरू औषधिसरह सहजरूपमा प्रतिवन्धित लागूऔषध पाइने गरेको यसको अध्ययनमा संलग्न विज्ञहरूको भनाइ छ । यसबाट सेवनकर्ताको संख्यामा वृद्धि भई स्थानीयस्तरमा आपराधिक मनोवृत्ति हाबी हुँदै गएको उनीहरूको भनाइ छ । राज्यका तिनैवटा तहबाट लागुऔषध सम्बन्धित जनचेतना मुलक कार्यक्रम संचालन गनुपर्ने पुर्ब प्रधानाध्यापक सुदशर्न प्रसाद कोईरालाको भनाई छ ।

युवा देशको कर्णधार हो, सुन्दर समाजको आधार हो तर दुव्यर्सनका कारण सम्पन्न परिवारको मात्र नभई अन्य धेरै परिवारका, बाबुआमाका सपना बोकेका, समाजका होनहार आशालाग्दा मान्छेहरु यस्तै लागुऔषधको दुव्यर्सनका फसेका यूवाहरु साथीसंगतको करकापमा सबै भन्दा बडी दुव्यर्सनमा फसेको कारण आफ्ने घर तथा समाजमा बिभिन्न घटना निम्ताउने समेत गरेका कारण दुव्यर्सनमा फसेकाहरुलाई पनि सहि मार्ग देखाउन, परामर्श र आत्मबल दिन सुधारगृहरुको प्रभावकारिता अनि समाजसँगको समन्वय अत्यन्त जरुरी भएको पुर्ब प्रधानाध्यापक कोईरालाले बताए ।

बारामा लागूऔषधसहित पक्राउ परेका अधिकांशले फेनारगन, डाइजिल्याब, नोफिन, लुपिजेसिक, नाइट्राजेपाम, नाईट्रोसन, कोरेक्स, नाइट्राभेट, स्पास्मो पेरिमोन, डाइलेक्स डीसी र गाँजासमेत बरामद गरिएको थियो  । प्रहरी तथ्यांकअनुसार बारमको बजार क्षेत्रमा अवैध लागू औषधको कारोबार बढ्दो छ । आर्थिक वर्ष २०७५÷७६ मा ३७ जनालाई लागूऔषधसहित पक्राउ गरी उनीहरू मुद्दा चलाइएको थियो ।

त्यसैगरी आर्थिक वर्ष २०७६÷७७ मा ५२ जनालाई पक्राउ गरी लागूऔषध मुद्दा दर्ता गरिएको थियो यस्तै आर्थिक वर्ष २०७७÷७८ मा यो क्रम बढेर ७२ प्रक्राउ गरेर लागूऔषध मुद्दा चलाइएको छ भने चालु आर्थिक वर्ष २०७८÷७९ को असोज सम्ममा २४ जना लागूऔषध मुद्दा चलाइएको छ ।

भरतीय सीमावर्ती क्षेत्र बजारबाट नाईट्रोसन, कोरेक्स, नाइट्राभेट, ब्राउनसुगर लगाएतका लागुऔषध लुकाइछिपाई लागूऔषध नेपाल भित्र्याउने र नेपालबाट गाँजा, चरेस, अफिम लगाएतका लागुऔषध लुकाइछिपाइ भारत जाने गरेको पाईएको हुदाँ प्रहरीले शुन्य सहनशीलताका सहित कार्य गरोको बाराका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक गौतम मिश्रले बताए ।

लागुऔषध नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय बाराले लागुऔषध कारोवारमा संलग्नको खोजीकार्य तीव्र पारेकै कारण हाल प्रक्राउको सख्या बढेको भएतापनि बारामा पहिलाको तुलानामा लागुऔषध कारोवारमा निकै कमि आएको बाराका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक गौतम मिश्रले बताए ।

प्रहरीले रात्रिकालीन बसबाट बढी मात्रामा लागुऔषध ओसारपसार हुने गरेकोले रात्रिकालीन जाँचको क्रमलाई तीव्र पारिएको जनाएको छ ।

लागुऔषध नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय बाराले लागुऔषध न्यूनीकरणका लागि सचेतना कार्यक्रम समेत सञ्चालन हुँदै आएको छ । जिल्लामा बढी मात्रामा ट्याब्लेट, इन्जेक्सन र गाँजा प्रयोग हुने गरेको तथ्याङ्कले देखाउँदछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय