काठमाडौं । चन्द्रागिरि नगरपालिकामा वडास्तरीय सीमा विवाद सतहमा आएको छ । चन्द्रागिरि नगरपालिका वडा नं. ६ मातातीर्थ र चन्द्रागिरि नगरपालिका वडा नं. ८ को सीमा विवाद सतहमा आएको हो । वडा नं. ६ को मातातीर्थ संरक्षण तथा विकास समितिले मातातीर्थ वरपर पर्खाल लगाउने भन्दै डोजर लगाएपछि सीमा विवाद उत्कर्षमा पुगेको हो ।

चन्द्रागिरि नगरपालिका वडा नं. ८ अन्तर्गत रहेको जग्गामा सोमबार डोजर चलाएपछि वडा नं. ८ का वासिन्दाले विरोध गर्दै काम रोक्न लगाएका छन् । पुरानो रोप वे को लाइन भएको क्षेत्रलाई सीमा मान्दै आएको उक्त क्षेत्रमा अहिले मातातीर्थ विकास समितिले जबरजस्ती कमाउण्ड वाल गर्न थालेपछि वडा नं. ८ अन्तर्गत रहेको जमुनाडाँडा सामुदायिक वन उपभोक्ता समितिले संरक्षण समितिलाई पत्राचार गर्र्दै काम रोक्न चेतावनी दिएको हो ।

पञ्चायतकालमा मातातीर्थ कुण्ड रहेको स्थानको पश्चिम पट्टीको सुन्धारा खोल्सोलाई सीमा बनाइएको तर कुण्ड परिसरमा कम्पाउण्ड वाल गर्ने कार्य गर्दै जाँदा पश्चिम पट्टी ढोका नराखिएको विषयलाई उठान गर्दै महादेवस्थान क्षेत्रका बासिन्दाले विभिन्न विरोधका कार्यक्रम गरेपछि मातातीर्थ क्षेत्र महादेवस्थान गाउँ पञ्चायतमा गाभिएको थियो । उक्त कार्यमा महादेवस्थान र मातातीर्थको सीमा क्षेत्र पूरानो रोपवेको बाटो कायम गरिएको थियो । सोही अनुसार हाल चन्द्रागिरि नगरपालिका वडा नं. ८ र ६ ले सोही स्थानलाई सीमा क्षेत्र मान्दै आफ्नो गतिविधि अगाडि बढाउँदै आएका छन् । उक्त स्थानमा बनेका भौतिक संरचनाले पनि सो कुरालाई पुष्टि गर्दछ ।

वडा नं. ६ को मातातीर्थ खानेपानी उपभोक्ता समितिले पनि सोही सीमाको पश्चिम पट्टी बोरिङ र आवश्यक संरचना बनाएको थियो भने सीमा क्षेत्रको पूर्वपट्टी वडा नं. ८ अन्तर्गत जमुनाडाँडा सामुदायिक वन उपभोक्ता समितिको बोर्ड र हेटौंडा काठमाडौंको प्रवेशद्वार निर्माण गरिएको थियो । उक्त संरचना बन्दै गर्दा कुनै विवाद नआएको सो क्षेत्रमा अहिले मातातीर्थ संरक्षण तथा विकास समितिले एकलौटी पाराले कम्पाउण्ड वाल निर्माण गर्दैै गर्दा विवाद सतहमा आएको हो ।
कम्पाउण्ड गर्न लागिएको क्षेत्र आफ्नो वडा अन्तर्गत पर्ने र समितिलाई प्रदेश सरकार १५ लाख, वडा र नगरपालिकाले २५ लाख रुपैयाँ संरचना निर्माणका लागि विनियोजन गरेको रकमबाट काम सुरु गरिएको समितिका अध्यक्ष शान्ता उदास बताउँछन् । यता, वडा नं. ८ का अध्यक्ष प्रल्हाद रिजालले भने परापूर्वकालदेखि पूरानो रोप वे लाई सीमा क्षेत्र मान्दै आइएको तर मातातीर्थ विकास समितिले एकलौटी ढंगले काम गरेको बताए । चन्द्रागिरि नगरपालिका वडा नं. ६ का अध्यक्ष संजय सिग्देलले भने स्थानीय निकाय गठन भएपछिको संरचना अनुसार विवाद समाधान गर्नुपर्ने र विवाद बढाउनु नहुने बताउनुभएको छ ।

नगरपालिका डिजिटल हाउस नम्बरिङ प्रविधिमा उद्धत रहेको अवस्थामा यस्ता सीमा विवादले उक्त प्रविधि नै कत्तिको प्रभावकारी हुने हो ? भन्नेमा अन्योलता बढेको छ । नगर क्षेत्रमा रहेका १५ वटै वडाका सीमा चुस्त दुरुस्त राख्नुपर्नेमा नगरपालिकाले बेलैमा ध्यान पुर्याउनु जरुरी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय