
अछाम- अछामको पञ्चदेवल विनायक नगरपालिका–२ मा एक किशोरी छाउगोठमा बलात्कृत भएकी छन् । मामाघरमा बसेर पढिरहेकी १६ वर्षीया किशोरी सोमबार मध्यराति मामा नाता पर्नेबाट बलात्कृत भएको अछामका प्रहरी प्रमुख डीएसपी सन्तोष पाठकले जानकारी दिएकाछन् । प्रहरीले आरोपित १७ वर्षीय किशोरलाई पक्राउ गरिसकेको छ । डीएसपी पाठकले जिल्ला अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीमा काउन्सिलिङका क्रममा किशोरीले राति २ बजे पिसाब फेर्न छाउगोठ बाहिर निस्केका बेला मामा नाता पर्नेले बलात्कार गरेको बताएको सुनाए कि थिईन। ‘सुरुमा बेहोस हुने समस्या हो भन्दै जिल्ला अस्पताल मंगलसेन पुर्याए पनि ती किशोरी होसमा आएपछि बलात्कार भएको कुरा बाहिर आएको हो,’ उनले भने ।
किशोरीको होस आएपछि घटनाबारे सबै कुरा बताएपछि मात्र प्रहरीको टोली थप अनुसन्धानका लागि घटनास्थलमै पुगेको थियो । त्यहाँ पुगेका डीएसपी पाठकले घटनास्थलको प्रकृति बताउँदै भने, ‘छाउगोठ बाहिर मकैका बोट पनि भाँचिएका छन् । केही रङ पनि देखिन्छ ।’ अनुसन्धानमा खटिएका एक प्रहरीले स्थानीय अगुवाले घटना लुकाउन खोजेपछि पीडित किशोरीलाई नै बोकेर जिल्ला अस्पतालबाट घटनास्थलसम्म पुर्याउनुपरेको बताए ।



पीडित किशोरीलाई मंगलबार दिउँसो करिब साढे १२ बजेतिर बेहोस अवस्थामा जिल्ला अस्पताल पुर्याइएको थियो । जिल्ला अस्पताल अछामकी सूचना अधिकारी गंगा बुढा मगरले अस्पताल ल्याएको ३ घण्टापछि मात्रै पीडितलाई होस आएको बताइन् । भनिन्, ‘हाम्रो अनुमानमा किशोरी लगभग १२ घण्टा जति बेहोस भएको देखिन्छ । गाउँमा छारेरोग लागेको र नजिक गए रोग सर्छ भनेर कसैले पनि नछोएको देखियो ।’ उनका अनुसार इमर्जेन्सी वार्डमा होस खुलेको धेरैबेरसम्म किशोरी बोल्न सक्ने अवस्थामा थिइनन् ।