अर्घाखाँची-अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नम्वर ६ मा रहेको चौवाटारमा सिंचाइ पुगेपछि स्थानीय हर्षित भएका छन् । छत्रदेव गाउँपालिका वडा नम्वर ६ ठुलापोखरामा रहेको चौवाटारमा कुलोमा पानी आएपछि स्थानीयहरुले अन्नवाली संगै मौषमी तथा बेमौषमी तरकारी लगाएर आम्दानी लिन शुरु गरेको चौवाटार सिंचाइ योजना जल उपभोक्ता समितिका अध्यक्ष धनीश्वर पाण्डेले बताए । आर्थिक बर्ष २०७६-७७ देखि यस आर्थिक बर्ष सम्म जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालयको झण्डै ५ करोड ८१ लाखको लागतमा सिंचाइ कुलो निर्माण भएको हो । अर्घाखाँचीकै गौरवको योजनाको रुपमा रहेको यस सिंचाइ कुलो बनेपछि २ सय २० घरधुरीको एक सय हेक्टर क्षेत्रफलमा सिंचाई सुविधा पुगेको जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालयका प्रमुख इन्जिनीयर भेषराज भुसालले बताएका छन् ।

झण्डै ९ किलो मिटर लामो सिंचाइ कुलो निर्माण भएपछि सिंचाइको अभावमा बाझो रहेका खेतमा अहिले चैते धान लहलहाएको देख्न सकिन्छ । धान खेतीका लागि कृषकहरुले ब्याड राखेका छन् । पाखोबारीमा सिंचाइ सुविधा भएपछि मकै झन राम्रा देख्न सकिन्छ । बर्षौ देखिको स्थानीयको सपना पुरा भएको उनीहरुको भनाइ छ ।

शुरुको अबस्थाको डिपिआर अनुसारको काम सम्पन्न भएपछि कृषिको आधार सिंचाइमा सुधार भन्ने नाराका साथ जल उपभोक्ता समितिलाई योजना हस्तान्तरण गरिएको छ । चौवामा एक कार्यक्रमको आयोजना गरी जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालयका प्रमुख भेषराज भुसाल र चौवाटार सिंचाइ जल उपभोक्ता समितिका अध्यक्ष धनीश्वर पाण्डेले हस्ताक्षर गरेपछि कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख छबिन्द्र बेल्वासेले जल उपभोक्ता समितिका अध्यक्ष पाण्डेलाई योजना हस्तान्तरण गरेका हुन् । सिंचाइ सुविधा पुगेको यस स्थानमा मौषमी तथा बेमौषमी कृषि गरेर राम्रो उत्पादन लिन कोलेनिका प्रमुख बेल्वासेले सबै उपभोक्तालाइ आग्रह गरेका छन् । उनले कृषिबाट मनग्य आम्दानी गर्न सकिने भएकोले व्यवसायिक रुपमा आधुनिक प्रविधिको प्रयोग गरेर कृषिमा लाग्न सके राम्रो आम्दानी लिन सकिने बताएका छन् ।

गाउँपालिकाकै गौरवको योजनाको रुपमा रहेको यो योजनाले कृषकहरुमा उत्साह थपेको तथा उत्पादनमा समेत बृद्धि भएको छत्रदेव ६ का वडा अध्यक्ष कमल पौडेलले बताएका छन् । कुलोको संरक्षण र सम्बद्र्धन गरी सिंचाइको समुचित प्रयोग गरेर उत्पादन बृद्धि गर्न सके आर्थिक स्वरोजगार सृजना हुने उनको भनाइ छ । योजना हस्तान्तरण कार्यक्रममा कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख छविन्द्र वेल्वासे, जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालयका प्रमुख इन्जिनीयर भेषराज भुसाल, छत्रदेव ६ का वडा अध्यक्ष कमल पौडेल, कृषक धनीश्वर पाण्डे, लगायतले मन्तब्य राखेका थिए । कार्यक्रम चौवाटार सिंचाइ योजना जल उपभोक्ता समितिका अध्यक्ष धनीश्वर पाण्डेको अध्यक्षता, सिंचाइ कार्यालयका लेखापाल शिवहरी खनालको स्वागत मन्तव्य र रामजी भट्टराईको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय