काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ५ मा विद्युतीय चुल्हो वितरण गरिएको छ । चन्द्रागिरि नगरपालिका वडा नम्बर ५ को आयोजनामा नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको वैकल्पिक ऊर्जा विकास समति वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा विद्युतीय चुल्हो वितरण गरिएको हो ।

लाछी टोल, किसिपिडी (किपुल्चा) मा भएको वितरण कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले चन्द्रागिरि नगरपालिकामा पहिलो पटक विद्युतीय चुल्हो वितरण भएको बताउनु भयो । उहाँले हामी कुनै गन्तव्यमा पुग्न यात्रा आरम्भ गर्छौ, यात्रा सुरु हुने वित्तिकै गन्तव्यमा पुग्दैनौ, तर पुग्नको लागि सुरु गर्नैपर्छ भनेझै चन्द्रागिरि नगरपालिकामा विद्युतीय चुल्हो पुर्याउनकै लागि भएपनि कहि न कहिबाट सुरुवात गर्नै पर्ने हुन्थ्यो आज ५, २ र १२ वडाबाट एकैदिन सुरुवात भएको बताउनु भयो । उहाँले विद्युतीय चुल्होको प्रयोगले भान्सामा हुँदै आएको खर्चमा केही भएपनि कटौती हुने र धुँवा, धुलोले श्वास्थ्यमा पार्ने असरलाई पनि केही हदसम्म घटाउने दाबी गर्नुभयो ।

मन्त्री बस्नेतले इन्धनको लागि वर्षेनी खर्बौ रुपैयाँ बाहिर गएको र देशको विजुली प्रयोगले खर्बौ रुपैयाँ विदेश जानबाट रोकिने हुँदा विद्युतीय चुल्हो प्रयोग गर्न सुझाव दिनुभयो । उहाँले ८, १० वर्ष पहिले चुल्हो बाल्न नभई बत्ति बाल्नकै लागि बत्ति कहिले आउँछ भन्ने दिन थियो अहिले परिस्थिति बदलिएको भन्दै २४सैं घण्टा विजुली पनि आएको र देश विद्युत बेच्नपनि सक्षम भएको उल्लेख गर्नुभयो । उहाँले नेपाल विद्युत प्राधिकरणले उद्योग, कलकारखाना, संघसंस्था बाहेक ४८ लाख परिवारमा विद्युत वितरण गरिरहेको र २० युनिटसम्म सरकारले निःशुल्क वितरण गर्ने सरकारको नीति अनुरुप २६ लाख परिवारले अहिले निःशुल्क विद्युत सेवा लिइरहेको दाबी गर्नुभयो ।

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले विगतका वर्षहरुमा प्रयाप्त विद्युतीय सेवा नहुँदा विकल्पको रुपमा घाँस, दाउरामा आत्मनिर्भर भई बायो ग्यास अघि बढेको बताउनु भयो । उहाँले देश विजुलीमा आत्मनिर्भर हुँदै गर्दा नेपाल सरकारको नीतिअनुरुप अब चन्द्रागिरि नगरपालिका पनि विद्युतीय प्रणालीलाई अवलम्बन गर्दै अघि बढि रहेको बताउनु भयो । देशको खर्बौ रुपैयाँ इन्धन आयातमै बाहिरिरहेकोले आफ्नै देशमा उत्पादन भएको विद्युत प्रयोगको वातावरण तयार पार्न सक्ने हो भने खर्बौ रुपैयाँ बाहिर जानबाट रोक्न सकिने बताउनु भयो । नेपाल सरकारले आफ्नै देशमा उत्पादन भएको विद्युत उपयोग गर्न सक्ने वातावरण तयार गर्न तर्फ सोच्नुपर्ने बताउनु भयो ।

चन्द्रागिरि नगरपालिकाका उपप्रमुख बसन्ती श्रेष्ठले आयातित इन्धन भन्दा स्वदेशमै उत्पादित इन्धन प्रयोग गर्न नगरबासीलाई सुझाव दिनुभयो । उहाँले देशैभरको तथ्यांक हेर्ने हो भने पुरुषको तुलनामा महिलालाई चुल्होकै कारण दमको रोग बढी देखिएको बताउनु भयो । उपप्रमुख श्रेष्ठले काठमाडौं महानगर पालिका पछाडीको ठूलो महानगरपालिका चन्द्रागिरि नगरपालिका भएकोले १५ वटै वडालाई मध्यनगर गर्दै यस्ता योजनाको कार्यक्रम अघि बढाई दिन मन्त्री बस्नेतलाई आग्रह गर्नुभयो ।

वडा अध्यक्ष राजेन्द्र महर्जनले ग्यासको प्रयोगले घरघरको चुल्हो महंगो भएकैले खर्च कटौतीका लागि वडामा विद्युतीय चुल्हो प्रयोगको आवश्यक भएको बताउनु भयो । उहाँले पहिलो चरणमा ७ सय १० जनालाई चुल्हो वितरण गरिएको आवश्यकता र माग अनुसार पुनः यसप्रकारको कार्यक्रम अघि बढाउने बताउनु भयो । उहाँले वडाबासीको चुल्होमा अब वडा रहेकोले निर्धक्क भएर विद्युतीय चुल्हो प्रयोग गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका प्रमुख नवराज ढकालले नेपालको संविधान २०७२ लागुभएपछि संविधानले तीन तहको व्यवस्था गरेसँगै संविधानको मर्मअनुसार वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रले तीन तहको सरकार बीचको समन्वय, सहकार्य र साझेदारको आत्मसाथ गर्दै अघि बढेको बताउनु भयो । उहाँले केन्द्रले आफ्नो कार्य क्षेत्रमा रहेको नविकरणीय ऊर्जा र ऊर्जा दक्षतालाई अघि बढाई स्थानीय आवश्यकताको पहिचान गरी स्थानीय तहसँग समन्वयको भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्नुभयो । ढकालले राष्ट्रिय प्रशारणको पहुँच भन्दा बाहिर रहेको स्थानमा विभिन्न नविकरणीय प्रविधिबाट विद्युतको पहुँच पुर्याउने र राष्ट्रिय प्रशारण पुगेका ठाउँमा खाना पकाउने चुल्हो, सुधारिएको चुल्हो, बायो ग्यास लगायतका प्रविधिहरु प्रवर्धन गर्दै आएको पनि जानकारी गराउनु भयो । उहाँले ऊर्जाको माध्यमबाट लघु, साना, मझौला व्यवसायहरु प्रवर्धन गर्ने, ऊर्जा दक्षताको विस्तार गर्ने र कृषि, स्वास्थ्य, शिक्षालगायतको समग्र स्थानमा ऊर्जाको पहुँच पुर्याउने उद्देश्यले केन्द्रले काम गरिरहेको पनि बताउनु भयो ।

प्रमुख ढकालले नेपाल सरकारले विद्युत खपत गर्ने र आयातित ऊर्जा माथिको निर्भरतालाई कम गर्ने उद्देश्यले विद्युतीय चुल्होको अवधारणा अघि सारेको भन्दै नेपालमा खाना पकाउनको लागि ५४ प्रतिशत जनताले दाउरा र गुईठा प्रयोग गरिरहेको र ४६ प्रतिशतले एलपी ग्यास प्रयोग गरिरहेकोले वैकल्पिक ऊर्जा केन्द्र र स्थानीय तहबीच साझेदारको रुपमा कार्यक्रम देशैभर अघि बढिरहेको उल्लेख गर्नुभयो । उहाँले यो कार्यक्रममा नेपाल सरकारले ७० प्रतिशत र स्थानीय तहले ३० प्रतिशत लगानी गर्ने व्यवस्था गरिएकोले स्थानीय तहले ३० प्रतिशत आफैले राख्न पनि सक्ने अथवा उपभोक्ताबाट लिन पनि सक्ने व्यवस्था स्थानीय तहलाई नै निर्णय गर्ने जिम्मा दिइएको पनि जानकारी गराउनु भयो । उहाँले चालु आर्थिक वर्ष ०८०-०८१ मा १७ हजार ५ सय चुल्हो देशभर पुर्याउने लक्ष्य पुरा भएको र आगामी आर्थिक वर्षमा यो कार्यक्रमलाई अझ बृहत रुपमा अघि बढाएर लैजाने पनि बताउनु भयो ।

चन्द्रागिरि नगरपालिका वडा नम्बर १२ र २ पनि आजै विद्युतीय चुल्हो वितरण गरिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय