काठमाडौं – चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले राज्यमा भएका आन्दोलत र परिवर्तनमा सहिदहरुको ठूलो योगदान रहेको बताउनु भएको छ । बेपत्ता योद्धा हरिशरण महर्जनको स्मृति सभामा प्रमुख गिरीले लखन थापाबाट सुरुभएको परिवर्तनको इतिहासमा चन्द्रागिरिका हरिशरणको पनि ठूलो योगदान रहेको स्मरण गर्नुभयो ।

उहाँले देश परिवर्तनको लागि विभिन्न आन्दोलनमा धेरैले आफ्नो जीवनको आहुति गरे जसको प्रतिफल आज हामीले पाइरहेको उल्लेख गर्नुभयो । जनआन्दोलनका एक योद्धा हरिशरण जस्ता योद्धा जन्माउने आमा बुबालाई धन्यवाद दिंदै परिवर्तनको लागि भएको योगदान पुस्तौ पुस्तासम्म जीवन्त रहिरहने र त्यस्ता योद्धाहरुको सपना साकार बनाउन सबैको दायित्व भएको पनि बताउनु भयो ।

चन्द्रागिरि नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष शिवकुमार महर्जनले हरिशरण र आफु बालसखा भएको बताउनु भयो । सानो छदा आफुहरु सँगै हिड्ने, जुनसुकै काम गर्दा पनि सहकार्य गर्दै अघि बढ्ने गरेको र हरिशरण क्रान्तिकारी स्वभाव भएकाले समाज परिवर्तन गर्नुपर्छ भन्ने स्वभावका व्यक्ति भएको उल्लेख गर्नुभयो ।

गाउँ, समाज परिवर्तनको मुख्य आधार नै शिक्षा भएको भन्दै गाउँमा श्री भैरव सेकेण्डरी स्कुल स्थापनाका लागि उहाँको महत्वपूर्ण भूमिका रहेको र प्रावि, निमावि हुँदै आज माविसम्मको पढाई हुनु हरिशरणको सपना केही भएपनि पुरा भएको आफुले अनुभूति गरेको बताउनु भयो । वडा अध्यक्ष महर्जनले राजनीति पनि सँगै गरेको र आज आफु यहाँसम्म पुग्नुमा हरिशरणको पनि योगदान रहेकोले उहाँको पहिचान गाउँमा मात्र नभई देशैभर सम्झने वातावरण आफुले तयार गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । हरिशरण जस्तो होनाहार व्यक्ति गाउँ, समाज र देशले गुमाउन पुगेको पनि बताउनु भयो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य चित्रबहादुर श्रेष्ठले २०६१ साल असार १८ गते राष्ट्रको सपुत, होनाकार युवा राष्ट्र परिवर्तन, राजनीतिक परिवर्तन र नेपाली जनताको हुकुमी व्यवस्था स्थापनाका लागि राज्यसत्तासँग विद्रोह गर्दा तत्कालको प्रतिक्रियावादी राज्य व्यवस्थाले सहज गर्न नसकेपछि उहाँलाई वेपत्ता बनाएको बताउनु भयो । उहाँले देशमा धेरै सरकार आए गए, परिवर्तन भए तर बेपत्ता व्यक्तिहरु अहिले पनि कहाँ छन् भन्ने राज्यले जवाफ दिन नसकेको उल्लेख गर्नुभयो ।

श्रेष्ठले आजका दिनसम्म पनि बेपत्ता परिवारका व्यक्तिहरु ठूलो पीडाबाट आफ्नो जीवन गुजारी रहेको बताउनु भयो । आज देशमा राष्ट्रपति, प्रधानमन्त्री देखि जतिपनि भएका छन् यिनै महान बेपत्ता र सहिदहरुको देन भएकोले उहाँहरुको योदानको उच्च समान्न गर्न कहिल्यै भूल्न नहुने बताउनु भयो ।

कार्यक्रममा श्री भैरव सेकेण्डरी स्कुलका विद्यार्थीलाई कपी, कलम वितरण गरिएको थियो । हरिशरणको नाममा श्री भैरव सेकेण्डरी स्कुलमा हरिशरण स्मृति कोष खडा गरिएको छ । र सोही कोषबाट उहाँको सम्झनामा प्रत्येक वर्ष स्कुलका विद्यार्थीलाई कलम, कपी वितरण पनि गरिदै आएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय