
बाँके- बाँकेको डुडुवा गाउँपालिका वडा नं। ६ सिख्खन पुरुवामा डाँकाचोरी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गर्न गएको प्रहरी टोली र स्थानीयबीच झडप भएको छ । डाँका चोरी मुद्दामा फरार सिख्खन पुरुवाका ५५ वर्षीय सन्नाम भनिने सरमानसिंह सरदारलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि विहिबार स्थानीयबासीले ढुङ्गामुढा गरेका थिए ।
सरदारलाई पक्राउ गरेर ल्याउने क्रममा गाडीमा स्थानीयले ढुङ्गामुढा गरेर भगाउन खोजेपछि प्रहरीले तीन राउण्ड हवाईफायर गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए । उनका अनुसार गोली लागेर डाँका चोरी मुद्दाका फरार प्रतिवादी सरदार र अर्का एक स्थानीय रहेका छन् । स्थानीयको इट्टा प्रहारबाट एकजना वरिष्ठ प्रहरी हवलदार गम्भीर घाइते भएका छन् । डुडुवा गाउँपालिका वडा नं ६ का वडाध्यक्ष मोहनराम मिश्रले पारिवारिक विवादमा प्रहरीले मुद्दा चलाएको जानकारी दिए ।



‘मुद्दा पहिले चलेको हो, अहिले घरमा लुकेर बसेको रहेछन्, दाजुभाइमा सम्पत्तिको विषयमा झगडा भएको रहेछ, प्रहरीमा पुग्यो र वादविवाद बढेपछि प्रहरीले छोरा नानक सिंह र सरमान सिंहलाई गोली हानेर नियन्त्रणमा लिएको हो’, उनले भने । तीनै जना घाइतेलाई उपचारका लागि भेरी अस्पताल नेपालगन्जमा ल्याइएको छ ।