
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले चार दलका ६ मन्त्रीलाई हटाउनु भएको छ ।
नेपाली कांग्रेसलाई सरकारमा सहभागी गराउन मुख्यमन्त्री सिंहले नेकपा माओवादी केन्द्रका २, नेकपा एकीकृत समाजवादीका २ तथा नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादीका १–१ मन्त्री हटाउनुभएको हो । जेठ २५ मा जनमतका सिंहको नेतृत्वमा बनेको सरकारमा माओवादी केन्द्र अर्थ र उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालय, एकीकृत समाजवादीले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र ऊर्जा सिँचाइ तथा खानेपानी मन्त्रालय लिएको थियो ।



यस्तै एक–एक सिट भएको नागरिक उन्मुक्ति पार्टीले श्रम तथा यातायात मन्त्रालय र संघीय समाजवादी पार्टीले गृह संचार तथा कानुन मन्त्रालय लिएको थियो । केन्द्रमा कांग्रेस र एमालेको समीकरण भएपछि मधेशमा जनमतको सरकारलाई नै निरन्तरता दिन दुई दल शुक्रबार साँझ सहमत भएका थिए । त्यस अनुसार मधेशमा कांग्रेसलाई सहभागी गराउन लागिएको हो । मुख्यमन्त्री सिंहले आज विश्वासको मत लिँदै हुनुहुन्छ । त्यसअघि उहाँले चार दललाई हटाएर कांग्रेस र लोसपालाई सरकारमा भित्र्याउने तयारी गर्नुभएको छ ।