
सप्तरी । आँपको उत्पादन राम्रो भएपछि यो वर्ष सप्तरीका किसान उत्साहित भएका छन् । अघिल्लो वर्षको तुलनामा यो वर्ष दोब्बर बढी आँप उत्पादन भयो । यो सिजन कुनै रोग कीराको सामना गर्नु नपरेको र मूल्य पनि राम्रो पाएकाले किसान खुसी भएका हुन् ।
अघिल्ला वर्षमा कीरा र मूल्य राम्रो नपाएका कारण निराश सप्तरीका आँप किसान यो पटक भने उत्साहित भएका हुन् । फूल र फल लाग्ने बेलामा मौसम अनुकुल हुँदा आँपको रुखमा मञ्जरी लागेका कारण आँपको उत्पादन बढेको हो । गत जेठमा आएका हावाहुरीले केही क्षति गरेपनि किसानलाई घाटा भने भएन । कृषि ज्ञान केन्द्रको तथ्यांकअनुसार गत वर्ष सप्तरीमा ८ हजार हेक्टर आँपको बगैंचामा २० हजार टन मात्र आँप उत्पादन भएको थियो । यस वर्ष भने अहिलेसम्म ४२ हजार भन्दा बढी मेट्रिक टन आँप उत्पादन भएको कार्यालयले जनाएको छ । जसबाट करिब १ अर्ब बराबरको कारोबार हुने प्राविधिकको अनुमान छ ।



सप्तरीमात्र नभई मधेश प्रदेश आँपका लागि उर्वर भूमि हो । तर, किसानले बेला बेला मल, सिंचाई लगायतको समस्या भोग्दा उत्पादन घट्ने गरेको छ । विभिन्न समय सरकारी निकायबाट किसानलाई सहयोग भइरहेको छ । तर, आवस्यकता अनुसार किसानले सहयोग नपाउँदा सबै ठाउँको उत्पादन सोचेअनुरुप भएको छैन । किसानले मल, सिंचाई, विषदी र बजारीकरणमा सरकारले सहयोग गरे उत्पादन अझ बढ्ने भन्दै सहयोगको अपेक्षा राखेका छन् ।