काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने माथि छानविन गर्न सहकारी पीडितले माग गरेका छन् ।

सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानविन विशेष समितिमा सहकारी पीडितहरुले साहारा बहुउद्देश्यीय सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा १ अर्ब रुपैयाँ लगानी गरेको भन्दै तत्कालीन गोर्खा मिडिया नेटवर्क प्राइभेट लिमिटेडका प्रवन्ध निर्देशक उपप्रधान तथा गृहमन्त्री लामिछानेउपर छानविन गर्न आवश्यक रहेको बताएका हुन् । सहारा सहकारी पीडितले सहकारीको नीति र कानून विपरित गोर्खा मिडिया नेटवर्कमा लगानी लगाइएको भन्दै उक्त रकम अपचलन गर्ने शक्तिशाली व्यक्ति गृहमन्त्री भएपनि अनुसन्धान गरी दोषी भए हदैसम्मको कारबाही गर्न समितिसँग पीडितहरुले माग गरेका छन् ।

यस्तै ओरिन्टल सहकारी पीडितले सहकारी वचतकर्ताको पैसा सहकारी सञ्चालकहरुले आफ्नो इच्छाले घरजग्गामा लगानी गर्ने र जग्गा अर्काको नाममा राखेर बचतकर्ताको पैसा सक्ने काम मात्र भएको बताएका छन् । उनीहरुले सहकारीको सम्पति सरकारले नियन्त्रणमा लिएर पीडितलाई सरकारले उनीहरुको रकम फिर्ता दिनुपर्ने माग राखेका छन् ।

साथै शिवशिखर बहुउद्देश्य सहकारी संस्था पीडित चक्रबहादुर श्रेष्ठले दुई वर्षदेखि बचत फिर्ताको लागि संघर्ष गरिरहे पनि आफुले बचत फिर्ता नभएको भन्दै गुनासो गर्नुभयो । उहाँले सहकारीका संचालक केदारनाथ शर्मा र गीता शर्माको नाममा २६ करोड रकम फ्रिज भएर बसेको भन्दै त्यो रकमबाट १ लाख वचतकर्ताको रकम फिर्ता गर्न सरकारसँग माग गर्नुभयो ।

त्यसैगरी यमुना आइटल सहकारी पीडितले छानविन समितिले पार्टी भन्दा माथि उठेर पीडितलाई न्याय दिनुपर्ने बताउनु भयो । उहाँले सरकारले अहिलेसम्म पीडकहरुको मात्रै आवाज सुनेको बताउनु भयो ।

यसैगरी इमेज सहकारी पीडत डिलबहादुर कार्कीले छानविन समितिका सदस्यहरु सहकारी पीडित सामु पुगेर गुनासो सुन्ने र सुझाव लिन आवश्यक रहेको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय