माथिबाट आएको पहिरोले मध्यपहाडी लोकमार्गको पर्वत खण्ड अबरुद्ध भएको छ । कुश्मा नगरपालिका वडा नम्बर २ स्थित नयाँ पुलमा गएको पहिरोले लोकमार्गको पर्वत खण्ड अबरुद्ध भएको हो । पहिरो लाकमार्गहुँदै कालीगण्डकी नदीसम्म पुगेको छ । हिजोदेखि परेको भिषण बर्षाका कारण पहिरो खसेको हो । उक्त पहिरो खुलाएर छिटोभन्दा छिटा सवारी सञ्चालन गर्ने तयारी भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी उक्त पहिरोले कालीगण्डकी रिभर रेष्टुरेन्ट पुरिएको छ । कालीगण्डकी किनारमा रहेको उक्त रेष्टुरेन्ट पुरिएको हो । खुर्कोट क्षेत्रबाट आएको ठुलो भेलसंगै आएको लेदोले अहिले रेष्टुरेन्ट वरपरको क्षेत्र पुरिएको छ । अहिले पनि रेष्टुरेन्टमा लेदो आउनेक्रम जारी रहेको छ । होम पुनले सञ्चालन गरेको रेष्टुरेन्टले कालीगण्डकी नदीमा र्याफटिङसमेत गराउँदै आएको छ । रेष्टुरेन्टमा भएका कोठा, टवाइलेट, काउन्टर, किचनसमेत पुरिएको लुक पुनले जानकारी दिए । अहिले मालढुङ्गा प्रहरी चौकीबाट प्रहरी टोली पुगेको पनि उनले बताए ।