बंगलादेशमा सरकारी जागिरका लागि व्यवस्था गरिएको आरक्षणविरुद्धको आन्दोलन उग्र बनेपछि देशव्यापी कर्फ्यू लगाइएको छ । आन्दोलनकारीले शुक्रबार नरसिङदी कारागारमा आक्रमण गरेर सयौं कैदी रिहा गरेपछि सरकारले कर्फ्यूको घोषणा गरेको हो । कारागारमा एक हजार कैदी बन्दी थिए ।
गत मंगलबारबाट सुरु भएको प्रदर्शन हिंसात्मक बन्दा ३५ जनाको मृत्यु भएको छ । सयौं व्यक्ति घाइते भएका छन् । देशभर मोबाइल, इन्टरनेट र टेलिफोन सेवाहरू बन्द गरिएको छ । आन्दोलनमा अधिकांश विद्यार्थीहरु सहभागी भएकाले शिक्षण संस्था अनिश्चितकालका लागि बन्द गरिएको छ । कानूनमन्त्री अनिसुल हकले वार्ताका लागि सरकार तयार रहेको बताए पनि यो सफल हुन सकेको छैन । आन्दोलनकारीले सरकारी जागिरमा आरक्षण खारेज गरी पिछडिएका वर्गलाई मात्र अधिकतम ५ प्रतिशत आरक्षण राखेर आरक्षण प्रणालीमा संशोधन गर्नुपर्ने माग राखेका छन् ।
बंगलादेशमा सरकारी जागिरमा देशको स्वतन्त्रताका लागि लडेकाहरूका सन्तानलाई करिब ५० प्रतिशत आरक्षण तथा कोटा राखिएको छ ।