
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४६औँ स्मृति दिवसमा कम्युनिष्ट पार्टीहरुले विभिन्न कार्यक्रम गरी मनाउँदै छन् ।
१९८१ असार १५ गते रामेछापको भङ्गेरीमा जन्मनुभएका श्रेष्ठको २०३५ साउन ७ गते भारतको गोविन्दवल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।



जनताका पक्षमा अधिकार स्थापना गर्ने लक्ष्यका साथ पुष्पलालले २००६ वैशाख १० मा भारतको कोलकाताको श्यामबजारमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुभएको थियो । पुष्पलाल, निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठको सक्रियतामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरिएको थियो।
नेपाली कांग्रेसलगायत प्रजातान्त्रिक शक्तिसंँग मिलेर संयुक्त जनआन्दोलन गरी पञ्चायत व्यवस्था ढाल्नुपर्छ भन्नेमा पुष्पलाल सधैँ अग्रस्थानमा थिए ।
शहीद गङ्गालाल श्रेष्ठका माइला भाई पुष्पलाल दाजुको हत्या भएपछि १५ वर्षकै उमेरमा राणाशाही विरोधी आन्दोलनमा सक्रिय भएका थिए ।
पुष्पलालको सम्झनामा आज पुष्पलाल स्मृति प्रतिष्ठानले विशेष कार्यक्रम आयोजना गरेको छ।