लामो रस्साकस्सी पश्चात धरान उपमहानगरपालिकाको बजेट पास भएको छ । करार कर्मचारीको करार अवधि थप्ने देखी मेयरले एकलौटी गरेको विवादले दुई पटक हुन नसकेको १५औं नगर सभाले आर्थिक वर्ष २०८१–०८२ का लागि कूल १ अर्ब ८९ करोड ४३ लाख ४८ हजार २ सय ८० रुपैयाँको बजेट पास गरेको छ ।

नगरसभाबाट महोत्वाकांक्षी र घाटा बजेट पास गरिएको छ भने महालेखाले बेरुजु देखाएको मेयर कोष र उपमेयर कोषलाई प्राथमिकतामा राखिएको छ ।

बजेटमा मेयरले एकलौटी गरेको भन्दै गत असार १५ गते आयोजना भएको नगर सभा उद्घाटनै नगरि स्थगित भएको थियो भने आसार २९ गते उद्घाटन नै नगरी स्थगित भएको थियो । दुबै नगर सभामा जुनविवाद देखिएकोे थियो समाधान नभई तेस्रो पटक भने नगरसभा भएको छ । अन्तत्वोगत्वा मेयर हर्कराज राईले आफु अनुकुल बजेट ल्याउन सफल भएको देखिएको छ ।

विगतका वर्षहरुमा करिब २१ करोडको हाराहारीमा आन्तरिक आम्दानी हुने गरेको थियो । आर्थिक वर्ष २०८०–८१मा आम्दानीको त झनै तेब्बर बढि बजेट ल्याइएको छ । गत वर्षको बजेटको समीक्षामा कुल १६ करोड ५८ लाख ६४ हजार ९ सय ६ रुपैयाँ मात्र आन्तरिक आम्दानी भएको छ । गत वर्षको बजेट २६ करोड ६९ लाख ६४ हजार २ सय ७९ रुपैयाँ अनुमान गरेकोमा जेठ मसान्तसम्म ६२ दशमलब १३ प्रतिशत मात्र आम्दानी भएको उल्लेख छ ।

त्यसो त बजेटमा वर्षेनी महालेखा परीक्षणमा अशंबण्डा देखाएको शीर्षक ‘नगर प्रमुख–उपप्रमुख कोषमा दुई करोड ५५ लाख रुपैयाँ विनियोजन गरिएको छ । जसमा नगर प्रमुख हर्कराज राईले परिचाल गर्ने नगर प्रमुख कोषमा एक करोड ८० लाख र उपप्रमुख कोषमा ७५ हजार रुपैयाँ विनियोजन गरेको छ । यो सँगै पहिलो पटक नगर प्रमुख भिजन तथा उपप्रमुख भिजन कार्यक्रममा पनि विनियोजन गरिएको छ ।

बजेटमा आन्तरिक आम्दानी ४८ करोड ४१ लाख ३४ हजार २ सय ८० रुपैयाँ , संघीय सरकार अनुदानबाट ८९ करोड १९ लाख रुपैयाँ, प्रदेश सरकार अनुदानबाट ६ करोड ४० लाख ६४ हजार आम्दानी उल्लेख गरिएको छ । संघीय राजस्व बाँडफाँटबाट २१ करोड ३४ लाख, प्रदेश राजस्व बाँडफाँटबाट २४ करोड ८ लाख ५० हजार प्राप्त हुने अनुमान गरिएको छ । बजेटमा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा सामाजिक विकास, पर्यटन, कृषिलाई र विपद व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय