
धरान – धरान १४ स्थित पिण्डेश्वर मन्दिरमा चतराको कौशिकी नदीबाट जल ल्याएर चढाउने भक्तजनहरुको पहिलो सोमबर नै थामिनसक्नु भीड रहेको छ । भक्तजनहरुमा आर्थिक आस्था प्रगाढ बन्दै गएको पिण्डेश्वर मन्दिरमा जल चढाउन आउनेहरुको भीडले प्रष्ट पारेको थियो ।
नेपालका नजिकका जिल्लामात्र हैन दुरदराज पश्चिमका सर्वसाधारणहरु ल्गायत भारतका बिहार राज्यबाट भक्तजनहरु सोमबार विहानै धरानको पिण्डेश्वर मन्दिरमा जल चढाउन आएका थिए । यस भन्दा अगाडिका बर्षहरुमा पिण्डेश्वर बाबाधाम समिति तथा मन्दिर व्यवस्थापन समितिले विहान ३ बजेदेखि नै जल चढाउनेका लागि मन्दिरको प्रवेशद्वार खुल्ला गरिदिने भएपनि अर्चना बाबाको आगमनका कारण विहान ८ बजेसम्म प्रवेशद्वार नखोलिदिँदा भने सर्वसाधारण रुष्ट बनेका थिए । स–साना बालबालिकादेखि बृद्धबृद्धासम्म लाइनमा बस्नुपर्दा भक्तजनहरुलाई समस्या भएको भन्दै उनीहरु आक्रोसित देखिन्थे । बर्षेनी भक्तजनहरुको चाप बोलबममा बढ्दै गएको धरान उपमहानगरपालिका वडा नं. १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताउनुभयो । उहाँले पिण्डेश्वर बाबाधाम समिति, मन्दिर व्यवस्थापन समिति, सुरक्षा निकाय लगायतसाग समन्वय गरी भक्तजनको सहजताको कामलाई सुचारु गरेको बताउनुभयो ।



मन्दिरमा जल चढाउन आउने भक्तजनहरुका लागि नेपाली काँग्रेस सुनसरी क्षेत्र नं. १ बाट निःशुल्क स्वास्थ्य शिविर, मनिहारी तथा उपहार संघ धरान , मधेसी सेवा समिति धरान, लायन्स क्लब धरान,ब्राहमण समाज नेपाल लगायतका विभिन्न संघ संस्थाबाट चिया पानी फल फूल बितरण गरेको थियो भने मारवाडी सेवा समिति ले खान नास्ताको व्यवस्था समेत गरिएको थियो । श्रावन महिनाभरी आउने भक्तजनका लागी मारवाडी सेवा समितिले खाना नास्ताको ब्यवस्था गरिने समाजका संयोजक उमेश अग्रवालले बताए ।
धरानको पिण्डेश्वरमा २०३९ सालदेखि कोशीको पानी ल्याएर जल चढाउने परम्परा धरानकै समाजसेवीहरुले गरेका थिए । पौराणिक कथा अनुसार देवता र दानव मिली समुद्र मन्थन गर्दा निस्किएको अमृतले भरिएको घडालाई दानवहरूबाट जोगाई यस स्थानमा ल्याई पु¥याएर शिवलिङ्गको रूपमा स्थापना गरेको भन्ने पुराण एवं धर्मशास्त्रमा व्याख्या गरिएको छ । यस मन्दिरमा अमृतपिण्ड पिण्डेश्वरका रूपमा भगवान शंकरको पूजा अर्चना गरिन्छ । यस मन्दिरमा श्रावण महिना भरी चतराको कोशी नदीवाट स्नान गरी जल ल्याई चढाउनको लागि देश विदेशका लाखौं भक्तजनहरूको भिड लाग्ने गरेको छ । भक्तजनहरुको विश्वास प्रगाढ बन्दैगएकोले बर्षेनी जल चढाउनेको संख्यामा बृद्धि हुदै गएको पिण्डेश्वर बाबाधाम समितिको दाबी छ ।