काठमाडौं । त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ । पोखराका लागि उडे लगत्तै अनियन्त्रित भएर सौर्यको ९ एन एएमई विमान दुर्घटना भएको हो ।

घटनास्थलमा अग्नि नियन्त्रकहरूले १५ जनाको शव निकालेका छन् । विमानका चालक मनिरत्न शाक्यसहित अन्य तीन जनाको उद्धार गरिएको छ । शाक्यको केएमसी अस्पताल सिनामंगलमा उपचार भइरहेको छ । ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो । विमानमा क्याप्टेन मनिषरत्न शाक्य र को–पाइलट संजित कटुवाल थिए । विमानमा सवार कर्मचारीहरूमा अमित मान महर्जन, सागर आचार्य, दीलिप वर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीप लाल जोशी, सर्वेश मरासिनी छन् । यस्तै, श्याम विन्दुकार, नवराज आले,राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी छन् । त्यसबाहेक, यज्ञ प्रसाद पौडेल, सन्तोष महतो, पुन्यरत्न शाही र आरिफ रेडा छन् । आरिफ भने विदेशी नागरिक हुन् ।

दुर्घटना भएपछि उडान र अवतरण प्रभावित भएको छ । ढाकाबाट काठमाडौँ आउँदै गरेको विमान बंगलादेश एयरलाइन्सको बीबीसी ३७१ विमान सिमराको आकाशमा होल्ड भएर ‘डाइभर्ट’ गरिएको छ ।

यस्तै थाइ एयरवेजको विमान भारतीय आकाशमा ‘होल्ड’ भएको छ । बिहार राज्यको सितामढी क्षेत्रको आकाशमा थाइ एयरवेजको टीजी ३१९ विमान होल्ड भएको हो । विमान बैंककबाट काठमाडौँ आउँदै गरेको अवस्थामा बीचमै होल्ड हुन पुगेको हो । यस्तै मलेसियाबाट काठमाडौँ आउँदै गरेको मलेसियन एयरको विमान पनि भारतीय आकाशमै होल्ड भएर दिल्लीतर्फ डाइभर्ट गरिएको छ । सौर्य एअरलाइन्सको जहाज दुर्घटनापछि गृहमन्त्री रमेश लेखक घटनास्थल पुग्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय