
जाजरकोट । नलगाड नगरपालिका–१ को चिउरी भू–क्षयको उच्च जोखिममा परेको छ । यो गाउँमा २ सय बढि दलित समुदायको बसोबास रहेको छ । भिरालो जमीन, गाउँको तलतिर सदाबहार बगिरहने भेरी नदीले दिनहुँ जमीन खार्दै जाँदा चिउरी गाउँ नै जोखिममा परेको छ । नदीले दिनहुँ जमीन कटान गर्न थालेपछि तत्कालिन जिल्ला परिषद्बाट उक्त बस्तिलाई नै अर्को ठाउँमा स्तानन्तरण गर्ने भनि निर्णय गरेको थियो । भूकम्पले चिरा–चिरा भएको जमीन भाँसिन थालेपनि स्थानीय गाउँ छोडेर अन्यत्र जान सकेका छैनन् । आर्थिक रुपमा कमजोर भएकैले पनि त्यहाँका नागरिक सुरक्षित स्थानमा स्तानन्तरण हुन सकेका छैनन् । सरकारले पनि पुरै गाउँलाई नै स्तानन्तरण गर्ने भनि गरेको निर्णय कार्यान्वयन गर्न सकेको छैन ।
नलगाड नदीको किनारमा दुई दर्जन बढि घरपरिवार बादी समुदायको बसोबास छ । बादी समुदायसँग भेरी नदीका माछा मार्ने बाहेक अर्को पेशा छैन् । त्यहाँका बादी समुदायले जाल हानेर, पासो थापेर बाह्रै महिना माछा मारेर आफ्नो गुजारा गरिरहेका छन् । अहिले बाठाटाठा व्यक्तिहरुले सिंगै गाउँलाई धरापमा राखेर अबैध तरिकाले बालुवाको खानी चलाई रहेका छन् । दैनिक अबैध तरिकाले स्क्यावेटर लगाएर भेरी नदीबाट बालुवा निकाल्दा चिउरी गाउँ नै उच्च जोखिमा परेको छ । अबैध रुपमा नदीमा स्क्यावेटर चलाउने व्यक्ति चिउरीकै वीरेन्द्र चनारा, मान बहादुर घेत्माल, सत्यदेव चनारा, बलजीत रावत, राजु घेत्माल, पठवीर चनारा, मनोज चनारा, पर्से घेत्माल रहेको स्थानीय बताउँछन् । विगत तीन वर्षदेखि उनीहरुले निरन्तर स्क्यावेटर प्रयोग गरेर बालुवा निकाली रहँदा जमीन झन कमजोर हुँदै गएको छ । वर्षायाममा स्क्यावेटर लगाएर नदीबाट बालुवा झिकिदिंदा कतिबेला के हुने हो चिन्ताले रातोदिन पुरोल्ने स्थानीय बताउँछन् ।



खोलामा दुई ठाउँबाट बालुवा निकालिएको छ । बालुवा नलगाड नगरपालिकाको लहँ, थाप्ला, भारगाउँ डाडाँगाउँ, करुवा, चाउलेचौर, कैना, दल्ली, कालिमाटी, छेप्का, बारेकोट गाउँपालिका, रुकुमपश्चिमको आठवीसकोट नगरपालिकाको राँडीसम्म पुग्ने गरेको छ । दिनहुँ बालुवा निकालेपछि भेरी नदीको बहाव अनियन्त्रित हुँदा चिउरी गाउँ नै जोखिममा परेको छ । भेरी नदीको छेउमा अस्थायी आबास बनाएर बसेका स्थानीय उच्च जोखिममा परेका छन् । उनीहरु कति बेला के हुन्छ भन्ने रातोदिन चिन्तै चिन्तामा दिन बिताउने गरेको बताउँछन् । नदीजन्य पदार्थको उत्खनन्ले जाजरकोट जिल्ला मात्र नभई रुकुमपश्चिमको भू–भागमा समेत क्षति पुगेको छ । कानुनी प्रक्रिया पुरा नगरी कुनै पनि नदीजन्य पदार्थको उत्खनन् गर्न पाइँदैन । गिट्टी, बालुवा लगायतका नदीजन्य पदार्थको संकलन तथा उपयोग गर्न वातवरणीय प्रभाव मूल्यांकन प्रतिवेदन गर्नुपर्ने हुन्छ । तर, नलगाड नगरपालिकाले कुनै पनि ऐन, निमावली, निर्देशिका तथा मापदण्ड जारी गरेको छैन् । सम्बन्धित वडा अध्यक्ष धर्मेन्द्र महरले व्यवसायीबाट रकम असुली गरिरहेकोले खानी लगाएर नदीबाट बालुवा निकाल्ने काम नरोकिएको स्थानीयको आरोप छ ।
त्यहाँको स्थानीय प्रहरी भन्छ, विहान ६ बजेदेखि बेलुका ६ बजेसम्मको समयमा उक्त स्थानमा स्क्यावेटर प्रयोग गरेर भेरी नदीबाट कसैलाई पनि बालुवा निकाल्न नदिएको बताउँछ । रातिको समयमा स्क्यावेटर प्रयोग गरेर नदीबाट बालुवा निकाल्ने काम भइरहेकोले हरेक दिन रातिको समयमा प्रहरीले ड्युटी गर्न नसक्ने प्रहरी बताउँछ ।