काठमाडौं । चोलेन्द्र शम्शेर जबरालाई कोरोना संक्रमण पुष्टि भएपछि सर्वाेच्चको कायममुकायम प्रधानन्यायाधीश कस्लाई बनाउने भन्रे विवाद टरेको छ ।
प्रधानन्यायाधीश जबराले शुक्रबार आफू अस्पतालबाट डिस्चार्ज हुने भनेपछि कायममुकायम प्रधानन्यायाधीशको विवाद टरेको हो ।
नेपाल बार एशोसिएसनले भने कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दीपककुमार कार्कीलाई दिनुपर्ने भनेको थियो । तर, जबराले शुक्रबार डिस्चार्ज हुने जानकारी दिएपछि यस विवाद त्यत्तिकै टरेको छ ।
आज (बिहीबार) प्रधानन्यायाधीश जबरा शुक्रबार डिस्चार्ज हुने भने पछि पेसी नतोकी सर्वोच्च अदालतका न्यायाधीशहरू आन्तरिक छलफलमा बसेका थिए ।
प्रधानन्यायाधीश जबरा शुक्रबार डिस्चार्ज भए बालुवाटारस्थित सरकारी आवासबाटै प्रशासनिक कामकारबाही गर्न सक्ने बताइएको छ ।
यदि, शुक्रबार डिस्चार्ज नभएको अवस्थामा न्यायाधीशहरुले विकल्प खोज्न बैठक बस्ने बताइएको छ ।
संविधानको धारा १२९ (६) अनुसार प्रधानन्यायाधीशको पद रिक्त रहेमा वा प्रधानन्यायाधीश आफ्नो पदको काम गर्न असमर्थ भएमा वा बिदा बसेमा वा नेपाल बाहिर गएका कारणले प्रधानन्यायाधीश सर्वोच्च अदालतमा उपस्थित नहुने अवस्था भएमा वरिष्ठतम न्यायाधीशले कायममुकायम प्रधानन्यायाधीश भई काम गर्ने व्यवस्था छ ।