भारतको जम्मु कश्मीरको श्रीनगरमा ५ महिनादेखि बन्धक बनाइएका २८ जना नेपालीहरूको उद्धार गरिएको छ । सिरहाका २१ र धनुषाका ७ जना २४ देखि ६० वर्षका २८ जना पुरुष मजदुरलाई भारतबाट उद्धार गरी शुक्रबार नेपाल ल्याइएको हो । शुक्रवार भारत स्थित नेपाली राजदूतावास र भारतीय गैर सरकारी संस्था किन इन्डियाको समन्वयमा बिना ज्याला जोखिमयुक्त तरिकाले द्वन्द्वग्रस्त क्षेत्रमा जबरजस्ती काममा लगाई बन्धक बनाइराखेका मजदुरलाई कश्मीरबाट उद्धार गरी नेपाल ल्याइएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ ।

सडक निर्माणको काम लगाउने र आकर्षक पारिश्रमिक दिने आश्वासन दिएर कश्मीर पु¥याएर बन्धक बनाइएका उनीहरूलाई उद्धार गरिएको हो ।
उनीहरूलाई आजै दुवै जिल्लाका मानव बेचबिखन नियन्त्रण समितिलाई जिम्मा लगाइएको छ । जिल्ला प्रशासन कार्यालय, सिरहाका अनुसार बिचौलिया मार्फत रोजगारीका लागि भनेर भारत पुगेका उनीहरू पााच महिनादेखि नै परिवारसँगको सम्पर्कमा थिएनन् । आफन्त र पीडित मजदुरको सूचनाका आधारमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले उद्धारका लागि तदारुकता देखाएसँगै उनीहरूको उद्धार गरिएको हो ।

मानव बेचबिखन नियन्त्रण समितिले मजदुरहरूलाई परिवारको जिम्मा लगाएको छ । उनीहरूलाई कसरी र कसले पठाएको भन्ने विषयमा अनुसन्धान हुने जिल्ला प्रशासन कार्यालय, सिरहाका निमित प्रमुख जिल्ला अधिकारी रबिन्द्र कुमार महतले बताएकाछन् । ‘आजै उनीहरूलाई परिवारको जिम्मा लगाइएका छौं भने, ‘त्यसपछि लगत्तै यसमाथि अनुसन्धान सुरु हुनेछ, यसमा संलग्नलाई अनुसन्धानको दायरामा ल्याएर कानुनी कारबाही हुनेछ ।’

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय