
आन्तरिक राजश्व कार्यालय भद्रपुरले आर्थिक बर्ष २०८०-८१ मा ३ अर्ब २१ करोड १२ लाख ६७ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । कार्यालयले सो अबधिमा ३ अर्ब ७९ करोड रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो । कार्यालयले २०७९-०८० को तुलनामा २०८०-०८१ मा २० करोड बढि राजश्व संकलन गरेको हो । कार्यालयले साढे ६ प्रतिशत बढी राजश्व संकलन बढोत्तरी गरेको हो । कार्यालयले गत असारमा मात्र रु ३० करोड ७१ लाख नौ हजार राजस्व सङ्कलन गरेको थियो ।
देशमा देखिएको आर्थिक मन्दी तथा जिल्लामा विकास निर्माणका आयोजनामा चालु आवमा कम भुक्तानी हुँदा मूल्य अभिवृद्धिकरबापत हुने आम्दानी घटेको तथा ठुला उद्योग धन्दा बन्द तथा धरासयी हुंदा त्यसको असर राजश्वमा देखिंदा कार्यालयले लक्ष्यको तुलनामा ८४ दशमलव ५७ प्रतिशतमात्र राजस्व सङ्कलन गर्न सकिएको जनाएको छ । गत आवमा मूल्य अभिवृद्धिकरबापत रु एक अर्ब ३७ करोड ८८ लाख ९२ हजार राजस्व सङ्कलन भएको थियो ।



कार्यालयले आयकरबाट रु १ अर्ब ६९ करोड ९४ लाख, भाडा आयकरबाट रु ३ करोड ६४ लाख, ब्याजबापत रु ११ करोड ५९ लाख, मूल्य अभिवृद्धि करबापत रु १ अर्ब २९ करोड पाँच लाख लाख तथा अन्तःशुल्कबापत रु ६४ करोड ४६ लाख ५५ हजार राजस्व सङ्कलन गरेको हो ।