काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस र एमालेले दुई दलीय व्यवस्थातिर मुलुकलाई लैजान खोजेको बताउनु भएको छ ।

पुष्पलालको जन्म शताब्दीको अवसरमा अध्यक्ष दाहालले संविधान संशोधन गरी थ्रेस होल्ड बढाउने र साना पार्टी सिध्याउने षड्यन्त्र भइरहेको बताउनु भएको हो । उहाँले लोकतान्त्रिक गणतन्त्रात्मक देशमा दुई ठूला दल मिलेर सत्ता चलाउनु देशमा ठूलो षड्यन्त्र हुँदै छ भन्ने स्पष्ट भएको उल्लेख गर्नुभयो । दाहालले देश नै बिचौलियाको कब्जामा रहेको र त्यही सेटिङ आफुले भत्काउन खोज्दा सरकारबाट बाहिरिनु परेको दाबी गर्नुभयो ।

एमालेभित्र पनि देशभक्तको ठूलो पंक्ति रहेकोले एकपटक असफल भयो भन्दैमा कम्युनिष्ट आन्दोलनलाई एकजुट गराउने प्रयासमा आफु नरोकिने बताउनु भयो ।

यसैगरी नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवा अहिले केपी ओलीसँग भएपनि मन आफूहरूसँग भएको बताउनु भयो । उहाँले यो कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवालाई निमन्त्रणा गरेपनि एमाले अध्यक्ष केपी ओलीको डरले आउन नसकेको टिप्पणी गर्नुभयो ।

यस्तै नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधान संशोधन गर्ने कांग्रेस–एमालेबीचको सहमति मान्य नहुने चेतावनी दिनुभयो ।

खनालले सत्तारुढ दुई ठूला पार्टीले सत्ता स्वार्थका लागि गरिएको कुनै पनि सहमति आफुहरुलाई मान्ने नहुने बताउनु भयो । उहाँले संविधान संशोधनको विषयलाई ठूला राजनीतिक दलले खेलाचीको विषय बनाउन खोजेको आरोप लगाउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय