
आपराधिक पृष्ठभूमिबाट राजनीतिमा होमिएर सांसद हुँदै मन्त्री बनेका राजीव गुरुङ उर्फ दीपक मनाङ्गे अहिले गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री हुनुहुन्छ । निर्विरोध निर्वाचित हुँदै प्रदेशसभा सदस्य बन्नुभएका मनाङे गण्डकीमा अहिलेसम्म भएका चारै जना मुख्यमन्त्रीको क्याबिनेटमा सहजै मन्त्री बन्ने एक्लो सांसद हो। तर जब मन्त्री बन्नुहुन्छ तब विवादमा तानिनुहुन्छ । अहिले कार्यकक्षमा गञ्जी मात्रै लगाएको उहाँको तस्वीर भाइरल छ । यतिसम्मकी कर्मचारीका अनुसार मनाङे कार्यकक्षमै मदिरा सेवन पनि गर्नुहुन्छ । तर मनाङेलाई पदबाट हटाउने सामर्थ्य कसैसँग छैन ।
मनाङको प्रदेश निर्वाचन क्षेत्र १ को २ बाट दुईपल्ट निर्वाचित स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे आफैमा विवादित व्यक्ति हुन् । तर गण्डकीको संसदीय अंकगणितले सधै लाभको पद मनाङेलाई जुर्दै आएको छ । गण्डकी प्रदेश सरकारको पहिलो र दोस्रो कार्यकालमा तीन–तीनपल्ट मनाङे मन्त्री भइसक्नुभएको छ । कांग्रेसका सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा अहिले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रहनुभएका मनाङेविरुद्ध सर्वोच्च अदालतमा ज्यान मार्ने उद्योगको मुद्दा अझै विचाराधीन छ । जस्तो विगत त्यस्तै वर्तमान देखाउन मनाङे उद्दत हुनुहुन्छ । मन्त्री भएपछि कर्मचारीलाई झापड हान्नेदेखि कर्मचारीलाई चेतावनी दिने उहाँको शैलीमा कुनै परिवर्तन आएको छैन ।



मन्त्री जत्तिको व्यक्तिले कार्यकक्षमा गञ्जी मात्रै लगाएको तस्वीर चर्चामा छ । यसले मन्त्री पदको नै खिल्ली उडाएको छ । मन्त्रीको सामान्य मर्यादाकोसमेत ख्याल नगरी गञ्जीमै कार्यकक्षमा बसेका मनाङेले सेवाग्राहीलाई समेत त्यसरी नै भेट्नुभएको थियो । यातायात व्यवासायी महासंघले रातो नम्बर प्लेटले पनि यात्रु ओसार्न पाउने कार्यविधि नल्याउन बिहीबार ४८ घन्टे अल्टिमेटम दिएका थिए । त्यसको भोलिपल्ट राइड सेयरिङ एपमार्फत चलेका राइडर्स ध्यानाकर्षण गराउन मन्त्री मनाङेसँग पुग्दा उहाँले ट्याक्सी व्यवसायीलगायतले आफूलाई ब्याकमेलिङ गर्न खोजेको भन्दै आफू ढुक्कले रक्सी खाएर सुत्ने प्रतिक्रिया दिनुभएको थियो । हुन त मन्त्री भएपछि मनाङेले देखाउने रवाफले त्यसले कर्मचारीमा सिर्जना गरेको आतंकको फेहरिस्त लामो छ । युवा तथा खेलकुदमन्त्री हुँदा मनाङेले आफ्नै कर्मचारीमाथि कुटपिट गर्नुभएको थियो । कर्मचारीलाई पेपर वेटले हान्ने काम मनाङेले गरेको हर्कत हो ।
ज्यान मार्ने उद्योगमा कसुरदार ठहर भएर कारागारमा बन्दी जीवन बिताइसकेका दीपक मनाङने विशेष गरेर ठमेलक्षेत्रमा आफ्नो कार्यक्षेत्र बनाएर ठेक्कापट्टा र असुली धन्दामा संलग्न हुनेगरेको आरोप लाग्दै आएको छ । असुलीकै विषयमा कुरा नमिलेपछि मनाङ्गे समूहले चक्रे मिलन समूहमाथि २०६१ सालमा आक्रमण गरेको थियो । ज्यान मार्ने मनसायले आक्रमण गरिएको भन्दै मनाङ्गेमाथि जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको थियो । मनाङेलाई सर्वोच्च अदालतले ५ वर्ष कैद सजाय हुने तत्कालिन पुनरावेदन अदालत पाटनको फैसला सदर गरेपछि मनाङ्गे जेल चलान भएका थिए ।
मुलुकी ऐनको नयाँ व्यवस्थाले १० वर्षभन्दा भन्दा कम सजाय हुने मुद्दामा थुनाबाहिर रहेरै मुद्दा लड्न पाउने व्यवस्था गरेकाले सर्वोच्चले मनाङ्गेलाई थुना बाहिरै बसेर मुद्दा लड्न पाउने गरी थुनामुक्त गर्ने आदेश दिएको थियो । मनाङेले २०७४ मा पनि स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो र एमालेले समर्थन गरेपछि चुनाव जित्नुभएको थियो । नेकपा विवाद पेचिलो भएपछि पहिले पृथ्वीसुब्बा गुरुङले मनाङेलाई खेलकुद मन्त्री बनाएसँगै मनाङेको मन्त्री बन्ने क्रम सुरु भयो । तर माननीय मन्त्री बनेपनि मति भने अझै परिवर्तन हुन सकेको छैन ।