![](https://ournewscrew.com/wp-content/uploads/2024/07/Govinda-raj-joshi.jpg)
काठमाडौं । सर्वोच्च अदालतले पूर्वमन्त्री गोविन्दराज जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । न्यायाधीश विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले विशेष अदालतले गरेको फैसलालाई सदर गर्दै जोशीलाई ६९ लाख १५ हजार जरिवाना र ९ महिना कैदको सजाय सुनाएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कांग्रेसका नेता जोशी र उनका परिवारका सदस्यविरुद्ध भ्रष्टाचार गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा २०६० पुस १८ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । सुरुमा जोशीलाई विशेष अदालतले हदम्याद कटाएर ढिलो गरी मुद्दा दायर गरेको भन्दै सफाइ दिएको थियो । मुद्दाको तथ्यमै प्रवेश नगरी प्राविधिक आधारमा सफाइ दिने विशेषको फैसला नमिलेको भन्दै सर्वोच्च अदालतले पुनः हेर्न फाइल फर्काइदिएको थियो । त्यसपछि विशेष अदालतले मुद्दाको तथ्यभित्र प्रवेश गरी सुनुवाइ गर्दा उनलाई भ्रष्टाचारी ठहर गरेको थियो । उनले २ करोड १६ लाख १४ हजार ३७६ रुपैयाँ भ्रष्टाचार गरी कमाएको ठहर गरी डेढ वर्ष कैद सजाय हुने फैसला विशेषबाट भएको थियो । विशेषको फैसलाविरुद्धको मुद्दा २०६९ फागुन ६ गते सर्वोच्च पुगेको थियो । जोशी र अख्तियार दुवै पक्षले सर्वोच्चमा पुनरावेदन गरेका थिए । विशेषले तोकेको सजाय अपुग रहेको भन्दै अख्तियारले बढी सजाय माग गरेको थियो भने जोशीले सफाइ पाउनुपर्ने जिकिर गरेका थिए ।
![](https://ournewscrew.com/wp-content/uploads/2023/09/nagarpalika-new.gif)
![](https://ournewscrew.com/wp-content/uploads/2023/09/gengu-new.jpg)
![](https://ournewscrew.com/wp-content/uploads/2023/09/anugaman-add.gif)
जोशीका कानुन व्यवसायीले अख्तियारले अनुसन्धान अधिकृत तोकेको पत्र नपठाएसम्म सुनुवाइ अगाडि बढ्न नसक्ने अडान लिएका कारण लामो समयदेखि यो मुद्दा सर्वोच्चमा अड्किएको थियो । सर्वोच्चका केही कर्मचारीले उनको मुद्दाको अभिलेख अनलाइन प्रणालीबाटै डिलिट गरेर समेत मुद्दा लम्ब्याएका थिए ।