
पोखरामा विद्यालय बस दुर्घटना हुदाँ आमा छोराको मृत्यु भयो । एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका ६ वर्षीय छोरा प्रिन्स विकको मृत्यु भएको हो । विद्यालय पढ्न बस चढेका २८ विद्यार्थी र चालकको उपचार भइरहेको छ । तिब्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।



पोखरा महानगरपालिका वडा नम्बर २१ रामदीबाट बिरौटा फर्किने क्रममा ग १ क ६२१९ नम्बरको बस सडकबाट करिब ५० मिटर खसेर दुर्घटना भयो । एलपी देवकोटा मेमोरियल विद्यालयको गाडी विद्यार्थी लिएर विरौटा फर्कंदै गर्दा पोखरा २१ कृस्तीको ओरालोमा दुर्घटनामा परेको हो । दुर्घटनामा आरती विक र उनका ६ वर्षीय छोरा प्रिन्स विकले अनाहकमा मृत्युवरण गर्नुपर्यो । बसका चालक, एक शिक्षिका, एक अभिभावक र घाइते २५ विद्यार्थीको विभिन्न अस्पतालमा उपचार भइरहको छ । यु आकारको घुम्तीमा गाडी तिब्र गतिमा गुडाउदा उत्त घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।
यसअघि पनि यहीँ घुम्तीमा पटक–पटक दुर्घटना हुने गरेको स्थानीय बताउँछन । कालोपत्रे सडक बनेपछि सडकमा गिट्टी असरल्लै छाडिएको छ । जसको कारण ब्रेक लगाउँदा पनि गाडी चिप्लेर दुर्घटना हुने गरेको छ ।
स्कुल बसको आयुमा पनि प्रश्न उठेको छ । नगरमा चलेका पुराना बस विद्यालयले संचालन गर्ने गरेको आरोप लाग्दै आएको छ । २० जना सिट क्षमताको बसमा ३० जना चढाउनु विद्यालयको लापर्बाही देखिन्छ। सार्वजनिक सवारीको जाचँपास कडाइ गरिए पनि विद्यालय बसको नियमित जाँच हुने गरेको छैन । यो पनि दुर्घटनाको कारण हुनसक्छ ।