गण्डकी । नेपाल भ्रमणमा आई गण्डकी प्रदेशमा पुग्ने पर्यटक औसत १२ दिन बस्ने गरेको एक अध्ययनले देखाएको छ । नेपाल राष्ट्र बैंक पोखरा कार्यालयले गरेको अध्यनले गण्डकीमा औसत बसाई १२ दिन बस्ने पर्यटक नेपालमा कुल २२ दिन बस्ने गरेका छन् । पर्यटकले औसत ६३ डलर दैनिक खर्च गर्ने गरेको अध्ययनले देखाएको छ । औसत बसाई सन्तोषजनक भएपनि खर्चको प्रतिशत भने कमजोर देखिएको छ ।

अध्ययन प्रतिवेदनअनुसार उनीहरूको दैनिक खर्च जम्मा ८ हजार ३५५ रुपैयाँ अर्थात ६३ अमेरिकी डलर छ । नेपाल राष्ट्र बैंक पोखरा कार्यालय अनुसन्धान इकाइले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०÷०८१ मा गरेको ‘गण्डकी प्रदेश भ्रमण गर्ने विदेशी पर्यटकहरूको बसाई तथा खर्चको प्रवृत्ति सम्बन्धी विशेष अध्ययन प्रतिवेदनले उक्त तथ्यांक दिएको हो । सर्वेक्षणमा भाग लिएका पर्यटकले गण्डकीमा १२ दिन बिताउने र नेपालको कुल बसाई भने २२ दिन मात्र भएको उल्लेख गरेका छन् ।
गण्डकी घुम्न आएका विदेशी पर्यटकमध्ये सबैभन्दा धेरै दक्षिण अमेरिकाबाट आउने पर्यटक १९ दिन बस्ने गरेको पाइएको छ भने सबैभन्दा कम एसियाली पर्यटक ९ दिन बस्ने गरेका छन् । अष्ट्रेलियाली पर्यटक १५ दिन, उत्तर अमेरिकी र युरोपियन पर्यटक १३ दिन गण्डकीमा बिताउने गरेका छन् । गण्डकी प्रदेशमा पर्यटकको औसत बसाई अवधि १२ दिन रहेको पाइएको छ ।

घुम्न आउने पर्यटकमध्ये पुरुषको भन्दा महिलाको बसाई अवधि बढी हुने गरेको देखिएको छ । नेपाल भ्रमणमा आउने पर्यटकमध्ये पुरुषको बसाई अवधि २० दिन हुँदा महिलाको २५ दिन पाइएको छ ।
गण्डकी प्रदेशमा गत आर्थिक वर्षमा ४१ देशका पर्यटक आएको देखिएको छ । तीमध्ये सबैभन्दा धेरै भारत, फ्रान्स, अमेरिका, बेलायत र अस्ट्रेलियाका पर्यटक आएको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै महादेशका आधारमा युरोपबाट सबैभन्दा धेरै ४६.२५ प्रतिशत र सबैभन्दा कम दक्षिण अमेरिकाबाट ०.७५ प्रतिशत पर्यटक आएको पाइएको छ । पर्यटकहरूले सबैभन्दा धेरै खानपिनमा खर्च गर्ने गरेको पाइएको छ । उनीहरुले खानपिनमा २८.२२ प्रतिशत, बसोबासमा २७.६ प्रतिशत, यातायातमा २१.७, मनोरञ्जनका लागि १२.३, किनमेलमा रकम खर्च गरेको प्रतिवेदनमा उल्लेख छ । पर्यटकले गर्ने खर्च संकुचन हुँदा पर्यटन क्षेत्रले पर्याप्त लाभ लिन सकेको छैन ।

आएकामध्ये साहसिक क्रियाकलापमा संलग्न हुन आउने सबैभन्दा धेरै ४०.१८ प्रतिशत र सबैभन्दा कम व्यापारिक प्रयोजनका लागि आउने पर्यटक २.९८ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । गण्डकी प्रदेश भ्रमण गर्ने विदेशी पर्यटकहरूको प्रमुख गन्तव्य मनाङ र दोश्रो रोजाई म्याग्दी भएको पाइएको छ । उनीहरूको बसाई अवधि मनाङमा सर्वाधिक १८.१३ दिन र म्याग्दीमा १३.६२ दिन पाइएको छ । सबैभन्दा कम गोरखामा ४.३७ दिन बसाई पाएको छ भने कास्कीमा १०.६७, नवलपरासी पूर्वमा ७ दिन पाइएको प्रतिवेदनमा उल्लेख छ । पर्यटकको बसाइ लम्ब्याउन, खर्च बढाउन र थप पर्यटक भित्राउन थप प्रयत्न गर्नुपर्नेमा सरोकारवालाको जोड छ ।

गण्डकी प्रदेश भ्रमणमा आउने पर्यटकले भाषागत समस्या, पर्यटन सूचनाको कमी, यातायातको समस्या, सुरक्षालगायतका समस्या भोगेको बताएका छन् । गत वर्ष आएका पर्यटकहरूमध्ये ८७ प्रतिशतले गण्डकी प्रदेशबाट प्राप्त गर्न सकिने सम्पूर्ण आनन्द लिन पाएको बताएका छन् । गण्डकी प्रदेश घुम्ने पर्यटकमा घुमाई आनन्दित र रमणीय हुने गरेको पाइएको छ । राष्ट्र बैंकको अध्यनले औसत बसाइ र खर्चको तथ्याङक आए गण्डकी प्रदेश भित्रने पर्यटकको अहिलेसम्म तथ्याङक संकलनको संयन्त्र बनेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय