मानव तस्करीको आरोप संसदभित्रै लागिसक्दा पनि राजीनामा नदिएकी उपसभामुख इन्दिरा राना मगरको पद जोगिने संकेत देखिएको छ । नैतिकताका आधारमा स्वयंले राजीनामा दिन नचाहने र केही दिन तातिएका दलहरु पनि अहिले चुप लागेर बस्ने भएपछि रानाको पद जोगिने देखिएको हो । असम्बन्धित व्यक्तिहरुलाई अमेरिकाको भिसा सहजीकरण गरेकी रानामाथि दलहरुले करुणा देखाउन लागेका हुन् त ?

गत साउन ६ गते प्रतिनिसभा बैठकमा उपसभामुख इन्दिरा राना मगरबारे पक्ष–विपक्षमा भएको त्यो दोहोरिले लाग्थ्यो यो बाझाबाझले रानामाथि उठेको नैतिकताको प्रश्न वार कि पार हुन्छ । कि सत्तारुढ दलका नेताहरु नै उपसभामुख हटाउने प्रक्रियामा जान्छन् कि उपसभामुख राना स्वयंले राजीनामा दिन्छिन् । तर त्यसको एक हप्ताभन्दा बढी समय बितिसकेको छ । अनि संसदमा रानाबारेका प्रश्नहरु शिथिल बनेका छन् ।

उपसभामुखलाई मानव तस्करीको आरोप लागेपछि यसको निकरणका तीन उपाय थिए । पहिलो–उपसभामुख राना आफैले राजीनामा गरेर छानबिनमा सहजीकरण गर्ने, दोस्रो न्यायलय गुहार्ने र तेस्रो महाअभियोग । अहिले उपसभामुख नै यो विषय नउठाउन सत्तापक्षका सांसदसँग अनुनयविनय गरिरहनुभएको छ । आफूले पत्राचार गर्नु गलत भएको स्वीकार गर्दै उहाँले संसदमा नबोल्न भनिरहनुभएको छ । सम्भवतः असम्बन्धित व्यक्तिहरुका लागि करुणा देखाएकी रानामाथि विगतमा आवाज उठाएका दलहरु नै करुणा देखाउने तयारीमा पुगेका छन् ।

संसदको चौथो ठूलो दलको प्रतिनिधित्व गर्ने उपसभामुखलाई कारबाही गर्दा विच्कने बुझाई कांग्रेस र एमालेमा देखिन्छ । त्यसैले उपसभामुखमाथि प्रश्न नै गर्न छाडेका छन् । रास्वपाका एक नेता अब यो विषयमा थप बहस नगर्ने मौखिक सहमति भएको दाबी गर्छन् । रानाले उपसभामुखको लेटरहेडमा अमेरिकी दूतावासलाई चिठी लेख्दै पाँच व्यक्तिको अन्तर्वार्ता मिलाइदिन आग्रह गरेको खुलासा भएपछि संसदमै यो विषय प्रवेश गरेको थियो । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले साउन ४ गतेको कार्यव्यवस्था परामर्श समितिको बैठकमै रानाको राजीनामा माग्नुभएको थियो । त्यतिमात्र होइन, रानाले पदीय आचरणविरुद्ध काम गरेको भन्दै अर्जुन बास्कोटाले राज्य व्यवस्था समितिमा साउन ३ गते उजुरी दिनुभएको थियो । उपसभामुखको विषयले संसद, सडक र रास्वपा गरम बने । उहाँ सांसद निर्वाचित भएको पार्टी रास्वपाले विज्ञप्ति नै जारी गरेर भिसाका लागि आर्थिक लेनदेन नभएको जिकीर गर्यो । तर रास्वपाकै केही नयाँ पुराना नेताहरुको अभिव्यक्तिले आर्थिक लेनदेन भएको खुलासा गरिसकेका छन् । यसरी गर्माएको यो विषय अहिले नरम मात्र होइन बन्द हुने अवस्थामा पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय