अहिले पाशुपत क्षेत्रमा कोटीहोम चलिरहेको छ । धार्मिक आड दिएर रकम असुलीको धन्दा चलाइएको छ । हाम्रो उद्देश्य धर्मप्रति अनास्था जगाउन खोज्ने होइन तर विकृतिको खबरदारी हो । साउन १ गतेदेखि पशुपति क्षेत्रमा आयोजना गरिएको कोटिहोममा भने फरक दृष्य देखिन्छ । जहाँ जति दान त्यसकै आधारमा सम्मान । धर्मको नाममा त व्यापार मौलाएको थियो भने अहिले त दानलाई व्यापारिकरण गर्ने प्रयास गरिएको छ ।

दुईवटा सामान किन्दा एउटा सित्तैमा भनेर दसैंमा लाग्ने अफर सुन्नु भएकै होला । हो ठ्याक्कै त्यस्तै अफर अहिले पशुपतिमा चलिरहेको कोटिहोममा छ । अदालतले नै ठगी गरेको पुष्टि गर्दै पटकपटक जेल चलान हुँदै छुटेका व्यक्ति कृष्णमुर्ति उर्फ विजय भण्डारीले सञ्चालन गरेको र संकल्पकर्ता रहेको कोटिहोममा उपस्थित हुने भक्तजनलाई दान गर्न अनेक लोभ देखाइएको छ । मामा घर अनाथालय आश्रम ललितपुर र छोरीको घर जेष्ठ नागरिक आश्रम भक्तपुरको भवन निर्माणका लागि सहयोगार्थ भन्दै मानव सेवा फाउण्डेशनको नाममा दान दक्षिणा संकलन गर्न भण्डारीको जुक्ति यो बोर्डमा घाम जस्तै छर्लङ्ग भएको छ ।

कसैलाई निस्वार्थ भावले आर्थिक वा भौतिक सहयोग गर्नुलाई दान दिनु भनिन्छ । शास्त्रले दान निश्चल मनले दिइन्छ भन्छ । दान दिनुलाई मानव जातिमा सबैभन्दा ठूलो धर्म मानिन्छ । यसलाई पुण्य कार्य पनि भनिन्छ । त्यसैले, दान गर्दा कुनै इच्छा राखेर दान गर्नु हुँदैन पनि भनिन्छ । तर कोटिहोममा जसले शास्त्रका अनेक विषयलाई यसरी ज्ञान बाँड्छन् तिनै व्यक्ति दानमा स्वार्थ घुसाइरहेछन् र विभिन्न दानको विभिन्न सम्मान तोकिरहेका छन् । कोटिहोम गरेको स्थलमा राखिएको बोर्डमा लेखिएकोछ १ हजार १ सय रुपैयाँदेखि ५ लाख ५५ हजारभन्दा माथिसम्म दान गर्न सकिन्छ । तर यहाँ इच्छाले दान गर्न पाइँदैन । कोटिहोमले तोकेकै दर अनुसार रकमलाई मात्रै दान मान्छन् । दान गर्नेलाई आश्रमको शिलालेखमा नाम लेखिदिने, आश्रमको कोठामा नामकरण, दुबोको माला लगाइदिने, विशिष्ट अतिथिका रुपमा मञ्चमा राखिने र घरबाट कार्यक्रम परिसरसम्म बाजागाजासहित ल्याउने व्यवस्था छ । के दानलाई यसरी वर्गीकरण गर्न मिल्छ ? कोटिहोममा सहभागी हुन पुगेकाहरू पनि यस प्रकारको स्टल र आयोजकको सोचको विरोध गरिरहेका छन् ।

पशुपति क्षेत्र विकास कोषले यस्ता कुरालाई वेवास्ता गर्दै आएको छ । उसलाई त पैसा भए पुग्छ । किनकी ६३ दिनका लागि कोषले दिनको २५ हजार रुपैयाँ, कैलाश पर्वतको दिनको २५ हजार रुपैयाँ र सुमार्गी भवनको दिनको ७ हजार रुपैयाँ उठाएको छ । आश्रम निर्माणको नाममा जारी कोटिहोमबाट त्यही प्रवृत्तिलाई बढावा दिइएको छ । के यो बोर्ड नटाँसेको भए चाहिँ दान आउँदैन थियो ? पक्कै आउँथ्यो तर आयोजकले खोजेको जति होइन । यसैले पनि पुष्टि गर्छ कि कोटिहोमको नाममा, धर्मको नाममा यहाँ व्यापार चलिरहेको छ । खुलमखुल्ला लुट मच्चिरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय