मीनभवनस्थित नेपाल कमर्श क्याम्पसका प्राध्यापक हत्याका फरार अभियुक्त १७ वर्षपछि पक्राउ परेका छन् । ललितपुरको इमाडोल घर भएका प्राध्यापक धर्मराज विष्टको हत्या आरोपमा फरार रहेका ३९ वर्षीय रञ्जन खड्कालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
काठमाडौं महानगरपालिका– ३२ बस्ने खड्का मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलअगाडिबाट पक्राउ परेका हुन् । ०६४ असार २६ गते खड्कासहितको समूहले प्राध्यापक विष्टलाई रड र इँटा प्रहार गरी घाइते बनाई बेहोस अवस्थामा छाडेर फरार भएको थियो ।
गम्भीर घाइते भएका प्राध्यापक विष्टको वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । ललितपुर महानगरपालिका– २६ ढोलाहिटी बस्ने ४१ वर्षीया सोभिता थापा भन्ने सविता थापा अधिकारीको योजनामा सो समूहले प्राध्यापकको हत्या गरेको थियो । हत्यामा सविताका भाइ विनोद थापा, रञ्जन खड्का र भक्तपुरको मध्यपुर ठिमी लोकन्थली बस्ने राजीव पाण्डे संलग्न थिए।