पोखराको भण्डारढीक खेल मैदान साविक लेखनाथ नगरिपालिकाको एक मात्र खेल मैदान हो । यो खेल मैदानलाई लेखनाथ रंगशालामा नामाकरण गरिएको छ । तर रंगशालाको अवस्था भने नाजुक छ । भएको फुटबल मैदान स्तरोन्नती हुन सकेको छैन बहुउद्देशीय कभर्ड हल निर्माण सुरु भएको ८ वर्षमा पनि अलपत्र छ । ठाउँको अभावले खेलाडीले प्रशिक्षण समेत गर्न पाएका छैनन् ।

खेलमैदान र पूर्वाधारकै अभावमा खेलकुद गतिबिधि ओझेल पर्दै गएको छ । खेलकुदका गतिविधि पोखरा रंगशालाभित्र केन्द्रीत छन् । राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगितामा अभ्यास खेलका लागि खेल मैदानको अभाव हुँदा लेखनाथ रंगशाला प्रयोगमा आउने गरेको छ । तर, यसको स्तरोन्नतिमा भने कसैको पनि ध्यान गएको छैन । रङ्गशालामा फुटबलको अभ्यास गदै गरेका खेलाडी खेलिरहेका थिए । उनिहरु पनि खेलमैदानको अवस्थाले होला खेलमा उत्साहित थिएनन् ।

बिहान बेलुका करातेलगायत मार्सल आर्टका खेलाडी पनि अभ्यासका लागि त्यहाँ पुग्ने भए पनि मैदान खेलका लागि उपयुक्त छैन । कभर्ड हल नभएका कारण उनीहरू खुला आकाशमुनि अभ्यास गर्न बाध्य छन् । वर्षा याममा रङ्गशालाको ‘ट्रयाक’ हिलाम्मे हुने भएकाले अभ्यासपूर्व खेलाडीहरू दौडनसमेत पाउँदैनन् । आठ वर्षअघि निर्माण सुरू भएको बहुउद्देशीय कभर्ड हल बीचमै अलपत्र परेपछि ‘इन्डोर’ खेलको पनि चौरमै प्रशिक्षण गराउनुपर्ने बाध्यता छ । वर्षातको समयमा त घर भाडामा लिएर खेल प्रशिक्षण दिने गरिएको छ ।

रङ्गशालाको ट्रयाक मापदण्ड अनुसारको छैन । दाताले बनाईदिएको प्यारापिट पनि लथालिङ्ग छ । अहिले ठूला खेल प्रतियोगिता सञ्चालन गर्न सकिने अवस्था छैन । ८ वर्षअघि रङ्गशालाभित्र निर्माण थालिएको बहुउद्देश्यीय कभर्ड हल पनि बजेट नहुँदा अलपत्र अवस्थामा रहेको छ । बजेट नहुँदा कभर्ड हल निर्माण तीन वर्षदेखि ठप्प छ । हालसम्म त्यसमा १ करोड १० लाख खर्च भइसकेको छ । आव २०७४÷७५ मा गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयबाट ११ लाख बजेटबाट कभर्ड हलको काम सुरु भएको थियो । राष्ट्रिय खेलकुद परिषद्ले ५० लाख, प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले २५ र तत्कालीन प्रदेशसभा सदस्य दीपक कोइरालाको निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट २५ लाख बजेट खर्च भइसकेको छ । उक्त बजेटबाट भुइँतलाको पिलर र पर्खाल बनाइएको छ । त्यस पछि निर्माण अवरुद्ध हुदाँ भत्कने अवस्थामा पुगेको छ । खेलकुद हेर्ने निकाय र खेल पदाधिकारीको उपेक्षामा लेखनाथ रङ्गशाला परेको छ ।

स्थानीय सरकार पोखरा महानगरपालिका, प्रदेश सरकार र राखेपबाट समेत रंगशाला निर्माण प्राथमिकतामा पर्न सकेको छैन । नियमित मर्मत र निर्माण सुरु भएका संरचनामा समेत सम्पन्न नहुँदा करोडौं लगानी खेर जाने अवस्थामा पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय