काठमाडौं बाहेक अन्य जिल्लामा नाग पञ्चमीदेखि हुने लाखे नाच ताप्लेजुङमा भने शुक्रबारबाट सुरु भएको छ । गथाँमुग चःन्हे (गठेमंगल घण्टाकर्ण) को अवसर पारेर ताप्लेजुङमा नेपाल भाषा तथा साँस्कृतिक समाजले लाखे नाचको शुभारम्भ गरेको हो । मुलुकका विभिन्न स्थानमा नाग पञ्चमी अर्थात् श्रावण शुक्ल पञ्चमीदेखि मात्रै लाखेनाच निकाल्ने परम्परा रहेपनि ताप्लेजुङमा घण्टाकर्णकै दिन लाखे नाचको शुभारम्भ भएको छ । लाखेनाच बिशुद्ध नेवार जातिको संस्कार भए तापनि गैर नेवारको समेत सहभागीता रहने ताप्लेजुङमा भने घण्टाकर्णकै दिनदेखि लाखे नाच प्रारम्भ गर्ने प्रचलन छ ।
परापूर्वकालमा घण्टाकर्ण नामक राक्षसले नागरिकलाई असाध्यै दुःख दिएको ईतिहास रहेको नेवार समुदायका अग्रज व्यक्तिहरुको भनाई छ । त्यसैले जनताहरुले छुटकारा पाउनका लागि राक्षसलाई मारेर बिजय उत्सब मनाउँदै लाखे नाचको सुरुवात गरिएको किम्बदन्ती रहेको छ । यस नाचमा ढोलक र झ्याम्टाको तालमा दूई लाखे र दुई ढटुवारे नचाउने प्रचलन छ । सडकको बीच भागमा नचाउँदै बजार परिक्रमा गरिने लाखे नाच र बजाउने बाजाको लय अन्य जिल्लाको तुलनामा ताप्लेजुङमा भने फरक रहेको छ । झण्डै ३ साता लामो समयसम्म नाचिने लाखेनाचमा गाईजात्रा, रोपाई जात्रा, कृष्ण जन्माष्टमीमा बिशेष कार्यक्रम गर्ने प्रचलन रहेको छ । हरेक वर्ष घण्टाकर्णको अवसरमा निकालिने लाखेको कृष्णकंसलिला गरेर अन्त्य गर्दै पर्वको बिदाई गर्ने परम्परा रहँदै आएको छ ।
जात्राको समयमा अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप समेत सञ्चालन हुने तयारीमा छ । यस पर्वमा ग्रामीण भेगदेखि हरेक स्थानका मानिस रकम जोहो गरि सदरमुकाम केन्द्रित हुने प्रचलन छ । पर्वले कला र संस्कृतिको जगेर्ना मात्र होइन समग्र जिल्लाकै अर्थतन्त्र चलायमान बनाउन टेवा समेत पुर्याएको छ । त्यसैले यस्ता संस्कृतिको नयाँ पुस्तामा पनि पुस्तान्तरण गर्दै आज जरुरी देखिन्छ ।