रामेछाप जिल्लामा ब्यवसायिक रुपमा चिया खेती हुन थालेको छ । यस अघि रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिकाको बाम्ती भण्डार र गोकुलगंगा गाउँपालिकाको रस्नालुमा सामान्य चिया खेती भएपनि यस वर्ष देखि भने मन्थली नगरपालिका वडा नं १४ स्थित भोटनागीमा करिब ४ सय रोपनीमा चियाखेति हुन थालेको छ । यहाँ उत्पादन भएको अर्थोडक्स चिया जिल्ला सदरमुकाम मन्थली, छिमेकी जिल्ला दोलखा र काठमाडौंका बजार पाइनेछ । चिया प्रतिकेजी १ हजार ८ सय देखि २ हजारसम्ममा विक्रि हुने गरको ब्यवसायी बताउँछन् ।
किसानले भोटनागी अर्गानिक चिया उत्पादक सहकारी संस्था मार्फत चिया खेती गरेका छन् । आफुले ३० रोपनीमा र सहकारीमा आबद्ध सबैले गरी ४ सय रोपनीमा ब्यवसायीक चिया खेती गरेका छन् । उत्पादन भएका चिया बजारीकरणको लागि समस्या भएकोले स्थानीय सरकारले सहजीकरण गरिदिन किसानहरुले आग्रह गरेका छन् ।
भोटनागीमा भएको चिया बगानलाई मिनी इलामको रुपमा विकास गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने भएकोले आवश्यक पूर्वाधार र सामाग्रीहरु जुटाउन स्थानीय सरकारले पहल गर्नुपर्ने देखिन्छ । मन्थली नगरपलिकाले भने चिया प्रशोधनका लागि आबश्यक तालिम दिएको र पर्यटनसँग जोड्ने र चियाको क्षेत्र विस्तार गर्ने हो भने अझै सहयोग गर्न सक्ने बताएको छ । बजारीकरणका लागि ब्यवसायीले आवश्यक मापदण्ड पुरा गरेपछि अझ थप सहयोग गर्न सकिने मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठ बताउछन् ।