मकवानपुरको बागमती गाउँपालिका ४, झुरझुरेमा निर्माणाधीन शहिद स्मृति रंगशालाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । निर्माणको कार्य करिब ८७ प्रतिशत सम्पन्न भएसँगै रंगशाला निर्माणको कार्य अन्तिम चरणमा पुगेको हो ।
गत आर्थिक वर्ष २०८०–०८१ को अशोज १७ गते ठेक्का आह्वान गरी रंगशाला निर्माण कार्य सुरु गरिएको थियो । निर्माण कार्यको अन्तिम चरणमा पुगेको रंगशालाको अनुमानित लागत ३ करोड ७८ लाख १५ हजार ४ सय ८२ रुपैयाँ रहेको छ । जसमा हेटौंडा–५ मा रहेको सञ्जय निर्माण सेवा प्रालिले ३ करोड ९ लाख ५२ हजार ७ सय ५७ रुपैयाँ ठेक्का सम्झौता गरी निर्माण कार्यलाई धमाधम अगाडि बढाइएको छ । निर्माण कम्पनीले १५ दशमलव ९९ प्रतिशत न्यून रकम कबोल गरेर बागमती गाउँपालिकाबाट ठेक्का हात पारेकोको थियो । गत माघ ४ गते पालिका र निर्माण व्यवसायीबीच भएको सम्झौता बमोजिम आउँदो माघ ३ गतेसम्म निर्माण कार्य सम्पन्न गरिसक्नुपर्ने छ । निर्माण कार्य अन्तिम चरणमा पुगेसँगै स्थानीय पनि खुशी छन् । यति मात्र होइन स्थानीय आफैं श्रमदानमा समेत जुटेका छन् ।
एक महिनाभित्र रंगशाला निर्माण कार्य सक्ने पालिकाले जनाएको छ । त्यससँगै रंगशालामा दुबो हाल्ने र घेराबारका कार्य हुनेछ । २२ हजार ९ सय २५ वर्गमिटर क्षेत्रफलमा निर्माणाधीन रंगशालाको खेलमैदानको उत्तर–पश्चिम दिशामा ६२ मिटर लम्बाई र १२ दशमलव ५ मिटर चौडाईको प्यारापिट बन्दैछ । प्यारापिट करिब २ हजार ५ सय दर्शक अटाउने क्षमताको रहेको छ । अहिले रंगशालाको ट्रससहितको प्यारापिट, ड्रेन फेन्सीङ वायरसहितको घेराबार, ड्रेस चेञ्जिङ रुम, शौचालयको निर्माण कार्य भइरहेको छ । रंगशालाको खेलमैदान, एथ्लेटिक्स ट्रयाक, मिनी ग्राउण्ड निर्माणलगायतका कार्य पालिकाले गरेको छ ।
यस्तै बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले व्यवसायीसँगै खेलाडी उत्पादनलाई जोड दिन पालिकाले आफ्नै लगानीमा रंगशाला निर्माण गरिरहेको दावी गर्नुभएको छ । पाकिकाले प्रत्येक वर्ष आयोजना गर्दै आइरहेको सातौँ संस्करणको बागमती राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता उक्त रंगशालामा आयोजना गरिने गरी निर्माण कार्यलाई तीब्रता दिएको छ ।
यसअघि प्यारापिटसहितको खेलमैदान नहुँदा पहिलोदेखि छैटौं संस्करणसम्म वडा नम्बर–८, स्थित जनता माध्यमिक विद्यालयको खेल मैदानमा प्रतियोगिता आयोजना गर्दै आइरहेको थियो । पालिकाले यसपटक भने आफ्नै सुविधा सम्पन्न रंशगालामा प्रतियोगिता गराउने तयारीमा जुटेको छ । ठेक्का सम्झौता बमोजिम निर्माण कम्पनीले समयमै रंगशाला निर्माण सम्पन्नसँगै पालिकाकै रंगशालामा गोल्डकप आयोजना गर्ने पालिकाको सपना पुरा हुने भएको छ । आवश्यकता अनुसार अरु खेल मैदान निर्माण कार्यलाई पनि अगाडि बढाउने पालिकाको लक्ष्य रहेको छ ।