काठमाडौं । काभा महिला भलिबल नेसन्स लीगमा नेपालले भारतमाथि ऐतिहासिक जीत निकालेको छ । आज भएको लीग चरणको खेलमा भारतलाई ३–२ को सेटमा पराजित गर्दै नेपालले ऐतिहासिक जीत हात पारेको हो ।
महिला भलिबलमा भारतमाथि नेपालको यो पहिलो जीत हो । स्पाइकरत्रय सरस्वती चौधरी, निरुता ठगुन्ना र उषा भण्डारीसँगै र लिवेरो सलिना श्रेष्ठको उच्च प्रदर्शन गरेका थिए । यसअघिका भेटमा नेपालले भारतलाई कडा चुनौती दिएपनि जीत भने निकाल्न सकेको थिएन । सन् २०१९ मा नेपालमै भएको १३औ दक्षिण एसियाली खेलकुदमा नेपाल जीत नजिक पुगेर पनि पराजय भोगेको थियो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको खेलको पहिलो सेट नेपालले सहजै २५–१८ ले सहजै आफ्नो पक्षमा पा¥यो । एक समय ५–५ को बराबरीबाट नेपालले ११–६ को अग्रता कायम गर्न सफल भयो । त्यही अग्रतालाई कायम राख्दै नेपालले सेट आफ्नो पक्षमा पार्न सफल भयो ।
दोस्रो सेटमा भने नेपालको प्रदर्शन फितलो बन्यो । भारतले उत्कृष्ट प्रदर्शन गर्दा नेपालको केही लागेन । तेस्रो सेटमा भने नेपालले पहिलो सेटकै प्रदर्शनलाई निरन्तरता दिदै २५–१७ ले सहजै जीत निकाल्यो । प्रतिस्पर्धात्मक बनेको चौथो सेट नेपालले १८–२५ ले गुमाउन पुग्यो । पाँचौ सेटमा नेपालले ४–२ को अग्रता लिदै जिततर्फ अग्रसर बन्यो । नेपालले त्यही अग्रतालाई कायम राख्दै १५–१३ को जीत निकाल्दै भारतमाथि ऐतिहासिक जीत निकाल्न सफल भयो ।
यस जीतसँगै नेपालको दुई खेलबाट ५ अंक पुगेको छ । तीन खेल खेलेको भारत ७ अंक जोडेर शीर्षस्थानमा छ । च्याम्पियनसीपमा नेपालसहित भारत, श्रीलंका, माल्दिभ्स र इरानको सहभागिता छ । शीर्ष चार टोलीले सेमिफाइनल खेल्नेछन् ।