बंगलादेशमा पुनः सरकार विरोधी प्रदर्शन सुरु भएको छ । केही समय अघि आरक्षणको विरोधमा भएको हिंसात्मक प्रदर्शनमा मारिएका व्यक्तिहरुको न्यायको माग गर्दै प्रदर्शनकारीले पुनः आन्दोलन सुरु गरेका हुन् ।
बंगलादेशको राजधानी ढाकाका विभिन्न भागहरूमा दुई हजारभन्दा बढी प्रदर्शनकारीहरू भेला भएर पीडितहरूको न्याय माग्दै सरकारविरोधी नारा लगाइरहेका छन् । ढाकाको उत्तरा क्षेत्रमा प्रहरी र दर्जनौं विद्यार्थीहरूबीच झडप समेत भएको छ ।
त्यस्तै सुरक्षा अधिकारीहरूले ढुंगामुढा गर्ने प्रदर्शनकारीहरूलाई तितरवितर पार्न अश्रुग्यास र ग्रेनेडहरू प्रहार समेत गरेको छ । प्रधानमन्त्री शेख हसिनाले माफि मागे सबै प्रदर्शन अहिले नै समाप्त हुने तर त्यसो नगरे प्रदर्शन थप चर्किने प्रदर्शनकारीले बताएका छन् ।
यस्तै प्रदर्शनकारीले अब आउने निर्वाचन शेख हसिना र अबामी लीगको नेतृत्वमा नगर्ने समेत आवज उठाएका छन् । प्रधानमन्त्री हसिना नेतृत्वको सरकारले गत महिनादेखि विद्यार्थी आन्दोलनको सामना गरिरहेको छ । यी विरोधहरू तत्काल रोकिने कुनै संकेत देखिएको छैन । देशभरी विरोध प्रदर्शनका क्रममा २ सयभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ ।