काठमाडौं । मदन पुरस्कार २०८० का लागि पाँचवटा कृति छनोटमा परेका छन् । मदन पुरस्कार गुठीले २०८० सालमा प्रकाशित भएका विभिन्न तीन सय चारवटा किताब मध्ये पाँच वटालाई संक्षिप्त सूचीमा राखेको हो । मदन पुरस्कार गुठीले पुरस्कारका लागि भक्त स्याङ्तानको डम्फुको आत्मालाप, मोहन मैनालीको मुकाम रणमैदान, जीवन क्षेत्रीको नुन–तेल, भावेश भुमरी र प्रणिता चाम्लिङको भावलिपि र रोशन थापा नीरवको सन्त्रासका साठी दिन कितावलाई संक्षिप्त सूचीमा राखेको छ ।

डम्फुको आत्मालाप

तामाङ समुदायको मौलिक परम्परा तथा संस्कृति बर्णित कथाहरुको संग्रह हो डम्फुको आत्मालाप । पुस्तकमा समेटिएका कथाहरुमा पात्र, तिनका चरित्र, भोगाइ, धर्म, संस्कृति र पहिचानमा तामाङ समुदायका बिम्ब झल्किन्छन् । एउटा कथा भने नेवार संस्कृति र अधिकार विषय वरपर केन्द्रित छ । काठमाडौं उपत्यका वरिपरिका जिल्लामा बढी बसोबास गर्ने समुदाय हो तामाङ समुदाय । तामाङ जातिमाथिको उत्पीडनको श्रृंखलालाई लेखक भक्त स्याङ्तानले पुस्तकमा प्रस्तुत गरेका छन् ।

मुकाम रणमैदान

लेखक मोहन मैनालीको खोजमूलक ऐतिहासिक दस्तावेजको किताब मुकाम रणमैदानमा नेपाल अंग्रेज युद्धको बखान रहेको छ । १८७१–७२ सालको नेपाल–अंग्रेज युद्धमा नेपाली र अंग्रेज सिपाही र कमाण्डरहरूले लेखेका चिठीका इतिवृत्तान्तलाई मैनालीले किताबको विषयबस्तु बनाउनु भएको छ । यो किताबका निम्ति नेपाल–अंग्रेज लडाइँ लडी जान्ने, भोगी जान्ने,देखी जान्ने मानिसका बयानमा लेखिएको किताब हो ।

नुन–तेल

जीवन क्षेत्रीले लेखेको पुस्तक नुन तेल विगततिर पदयात्रा किताब पृथ्वीमाथिको चासो र चिन्ताको सेरोफेरोमा प्रस्तुत गरिएको छ । पुस्तक लेखक क्षेत्रीले विगतमा खाद्यान्न ढुवानीका लागि गरिने नुन–तेल मार्गको यात्राको सन्दर्भ यस गैरआख्यान कितावमा उल्लेख गर्नुभएको छ ।

सन्त्रासका साठी दिन

लेखक रोशन थापा नीरवले लेखेको सन्त्रासका साठी दिन उपन्यास हो । देशमा भएका अधिकांश सहकारी संस्थाको अवस्था संकटग्रस्त भएको विषयलाई लिएर यसो हुनाको खास कारण के हो र यसबाट सामान्यभन्दा सामान्य नागरिकले कसरी कठिनाई भोग्नुपरेको छ भन्ने कथाबस्तुलाई किताबको विषय बनाइएको छ ।

भावलिपि

भावेश भुमरी र प्रणिता चामलिङले लेखेएका किताबमा प्रेमपत्र संग्रह भनिए पनि त्योभन्दा बढी समय र समाजको चित्रलाई झल्काएको छ । समाजभित्रका ब्यक्तिहरुको प्रेम कथालाई किताबमार्फत् प्रस्तुत गरिएको छ । यसमा प्रेम र विछोडका कथाहरु छन् ।

यिनै किताबहरुमध्येबाट एकलाई यो वर्षको मदन पुरस्कार प्रदान गरिन्छ । वि. सं. २०१२ असोज १० गते मदन पुरस्कार स्थापनाको घोषणा गरिएको थियो । प्रत्येक वर्ष प्रदान गरिने मदन पुरस्कारले सम्मानित किताब र त्यसका लेखकलाई बेग्लै उचाई दिने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय