काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं. ७ बाणस्थलीस्थित त्रिवेणी खोलामा पुल निर्माणको काम धमाधम भइरहेको छ । चन्द्रागिरि नगरपालिकाको असार २३ गते बसेको कार्यपालिका बैठकबाट पुल निर्माणको लागि ५ लाख रुपैयाँ दिने निर्णय गरेको थियो । सोही निर्णय अनुरुप अहिले वडा नम्बर ७ र १ जोड्ने त्रिवेणी खोलामा हिड्नकै लागि मात्रै फलामको पुल निर्माण भइरहेको छ । निर्माणाधिन पुलबाट यातायात आवत–जावत नभएपनि हिड्नका लागि भने अब सहज हुने देखिन्छ । खोलामा एउटा पुलसम्म नहुँदा पैदल हिड्नकै लागि पनि सास्ती भोग्नु परेको छ ।
खोलामा पुल निर्माणको लागि समय–समयमा विभिन्न गतिविधि पनि नभएको भने होइन । यहाँ पुल निर्माणकै लागि भनि त्रिवेणी घाटमै सप्ताह पनि लगाइएको थियो । सप्ताहपछि पुल निर्माणको काम पनि हुन थाल्यो । स्थानीय खोलामा पुल बन्न लागेपछि उत्साहित पनि भए । पुल बनेपछि अब आवतजावत गर्न सहज हुन्छ भन्दै दंग परे । तर, पुल निर्माणको काम आधाउधी हुँदा बीचैमा रोकियो । दिन वित्यो, रात वित्यो, वर्ष वित्यो । वर्षौ वितिसक्दा पनि रोकिएको पुल निर्माणको काम हुन सकेन । पुल निर्माणको लागि हालिएको फलाम पनि चोरी भयो । अहिले त्यहाँ दुई तीन वटा पिलर र केही रडका टुक्रा बाहेक केही छैन । आजका पुस्तालाई यहाँ पहिले पक्की पुल बन्न लागेको थियो भन्दा एकादेशको कथा जस्तो भएको छ ।
जति गर्दा पनि खोलामा पुल निर्माण गर्न नसकेपछि स्थानीयले ओहोर–दोहोर गर्नका लागि आफैले अस्थायी पुल समेत बनाए । तर, बर्खायाममा ती अस्थायी पुल कहिले बगाएर लान्थ्यो त कहिले भाँचिन्थ्यो । समय वित्दै गयो राष्ट्रिय गौरवको आयोजना नागढुंगा–सिस्ने खोला सुरुङको आयोजनाको काम सुरुभयो । आयोजनालाई खोलामा पुल निर्माण गरिदिन भनि स्थानीय र जनप्रतिनिधिले आग्रह गरे । आयोजनाले पनि पुल निर्माण गरिदिन सहमति भयो । काम पनि सुरुभयो, तर, पुल बनाउने विषयमा विवाद आएपछि निर्माणाधीन पक्की पुल अलपत्र अवस्थामा पुग्यो । अब त्यो पुल बन्छ बन्दैन कसैलाई थाहै छैन ।
समय वित्दै गयो, खोलामा पुल नहुँदा आवतजावत गर्न समस्या हुँदै गयो । वडा नम्बर ७ का वडा सदस्य भूवन केसी भन्नुहुन्छ, आफु कार्यबहाक अध्यक्ष भएको बेलामा खोलामा पक्की पुल नहुँदासम्म हिमपाइप राखेर अस्थायी पुल बनाएको र यो वर्षको बाढीले उक्त पुल पनि भत्काएको बताउनु भयो । उहाँले हिमपाईप राखेर अस्थायी पुल बनाउनु भन्दा पहिले त्यही ठाउँमा अस्थायी रुपमा आवात जावत गर्न सहज होस् भन्ने उद्देश्यले फलामको अस्थायी पुल राखिको र पुलका सामग्री चोरी भएपछि पुल बीचभागमै भाँचिएको बताउनु हुन्छ । भाँचिएकै पुलबाट भएपनि सर्वसाधारण ओहोरदोहोर गर्न बाध्य थिए । त्यस्तो पुलबाट आवत–जावत गर्दा दुर्घटना हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै उक्त स्थानमा आफ्नो पहलमा ह्युम पाइप राखेर पुल बनाइएको तर, आज त्यो पुल पनि नरहेको बताउनु हुन्छ ।
स्थानीयले भएको एउटा अस्थायी पुल पनि नभएपछि आवात जावत गर्नका लागि बाँसको पुल बनाएर हिड्न थाले । एउटा पुल पनि नबनाएको भन्दै सर्वत्र विरोध हुन थाल्यो । नगरपालिकाले खोलामा पुल बनाउनको लागि भन्दै ५ लाख बजेट छुट्यायो । अहिले धमाधम फलामको पुल बनिरहेको छ । हिड्नको लागि बनाइएको बाँसको पुल पनि निर्माणाधीन फलामको पुलसँगै छ ।
काठमाडौं जस्तो सुविधा सम्पन्न भएको ठाउँमा एउटा खोलामा पक्की पुल नहुँदा स्थानीय र पैदल यात्रुले यतिका समस्या भोग्न बाध्य छन् भने दुर्गम जिल्लाको अवस्था कस्तो होला ?