काठमाडौं । चन्द्रागिरि नगरपालिका र नेपाल टेलिकमबीच जीटुजी सम्झौता भएको छ ।
चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले नगरपालिका र नेपाल टेलिकमबीच सम्झौता भएसँगै नगरको १५ वटै वडा कार्यालय, १५ वटै स्वास्थ्य चौकी तथा शहरी स्वास्थ्य केन्द्र, २४ वटा सामुदायिक विद्यालय तथा नगरको १ मात्र अस्पताल थानकोट प्राथमिक अस्पतालमा एउटै नेटवर्किङ सिस्टमबाट काम हुने बताउनु भयो । उहाँले सम्झौतामा नगरपालिकामा १ जीविपिएस, वडा कार्यालयमा २ एमविपीएस, अस्पतालमा ५ सय एमविपिएस, सामुदायिक विद्यालय, क्लिनिकहरुमा १ सय एमविपिएस र नगरपालिकाको हरेक वाईफाई हसपटमा १ सय एमविपिएस फाइबर इन्टरनेट उपलब्ध गराइने जानकारी दिनुभयो ।
प्रमुख अर्यालले नगरपालिकाको माग अनुसारको स्थानमा नेपाल टेलिकमले एनटी एफटिटिएच नेटवर्क मार्फत् इन्टरनेट सेवा, वाईफाई हटस्पट तथा सीसीटिभिको लागि लोकल इन्टरनेट कनेटिभिटि प्रदान गर्नका लागि नेपाल टेलिकमको एफटिटिएच नेटवर्कमार्फत अप्टिकल फाइबर नेटवर्क उपलब्ध गराउन र आवश्यक टेक्निकल सर्पोट प्रदान गर्ने गरी गर्भरमेन्ट टु गर्भरमेन्ट (जीटुजी) सम्झौता भएको बताउनु भयो । उहाँले नगर भित्र रहेका सीसीटिभि क्यामेरा गुणस्तरीय संचालनको लागि पनि टेलिकमसँग सम्झौता भएको उल्लेख गर्नुभयो ।
प्रमुख अर्यालले टेलिकमसँगको सम्झौतासँगै नगरपालिका मातहत रहेका सरकारी कार्यालयका गतिविधि अब नगरबाटै निगरानी गर्न सकिने बताउनु भयो । उहाँले नगरबासीले फ्रि वाईफाईको सेवाको विषयमा गरेका गुनासोको पनि हल भएको दाबी गर्नुभयो । प्रमुख अर्यालले यसअघि नगरपालिकाले एरोनेटसँग बार्षिक सम्झौता गरी नगरको २ सय ठाउँबाट फ्रि वाईफाई सेवा दिंदै आएको थियो । उहाँले सरकारी संस्था भएकैले टेलिकमले प्रदान गर्ने सेवामा कुनै गुनासो नआउनेमा आफु आशावादी रहेको बताउनु भयो ।