सैनिक विद्रोहबाट जन्मिएको बंगलादेश ५३ वर्षपछि पुनः अर्धसैन्य शासनमा पुगेको छ । बंगलादेश स्वतन्त्र बनाउने मुक्ति संग्रामको नेतृत्वकर्ता तथा प्रथम राष्ट्रपति शेख मुजिबुर रहमानकी छोरी शेख हसिना र बंगलादेश स्वतन्त्र बनाउन मत्वपूर्ण भूमिका खेलेका तत्कालीन पूर्वी पाकिस्तानका सैनिक मेजर एवम् सातौँ राष्ट्रपति जियाउर रहमानकी पत्नी खालिदा जियाबीचको अस्तित्वको लडाइँले अन्ततः बंगलादेश सैन्य शासित एसियाली राष्ट्रहरुको क्लबमा प्रवेश गरेको छ ।
बंगलादेश
बंगलादेशमा विकसित भइरहेको राजनीतिक घटनाक्रमले पूर्ण सैन्य शासन कि अर्थसैन्य शासन भन्नेमा अन्योल छ । प्रधानमन्त्री शेख हसिनाले नागरिक आन्दोलन सामना गर्न नसकेर आफै राजीनामा दिई निर्वासनमा हिँडेपछि सेनाले पूर्णरुपमा कुको मनस्थिति बनाएको देखिँदैन तर राजनीतिक घटनाक्रम परिपक्व हुन केही समय लाग्नेछ । तर शेख हसिनाले राजीनामा दिनासाथ प्रधानसेनापति जनरल वाकर उज जमानले गरेको सम्बोधनले यहाँ सरकार बने पनि यो अर्धसैन्य शासन नै लागू हुने देखिन्छ ।
म्यानमार
म्यानमार पटकपटक सैनिक ‘कु’ बाट विथोलिएको एसियाली देश हो । जुन देश अहिले पनि सैनिक शासनको भुंग्रोमा थप जलिरहेको छ । पछिल्लोपटक सन् २०२१ को फेब्रुअरीमा लोकतन्त्रवादी नेतृत्व आङ सान सुचीलाई हिरासतमा लिएर सैनिकले जुन्ता शासन अर्थात्, सैनिक मण्डलीबाट शासन चलाइरहेको छ र यसको नेतृत्व गरिरहेका छन्, मिन आङले । आफू राज्य प्रशासन परिषदको भूमिकामा रहेर मीन आङले केही राजनीतिक व्यक्तिलाई समेत समावेश गरी सरकार चलाइरहका छन् । सुकी लगायत कयौँ नेता जेलमा छन् भने जनता अहिले पनि सरकारविरुद्ध लडिरहेका छन् । बौद्ध धर्मावलम्बीको बर्चश्व रहेको यो देशमा रोहिन्ज्या मुस्लिमहरुमा निरन्तरको दमन जारी छ भने अहिले सरकारविरुद्ध प्रदर्शन गर्नेहरुमाथि सेनाले गोली ठोकिरहेको छ ।
थाइल्याण्ड
अर्को एसियाली देश थाइल्याण्डमा सन् २०१४ मा सैन्य ‘कु’ भयो । तत्कालीन प्रधानमन्त्री यिन्लक सिनावात्राविरुद्ध देशव्यापी रुपमा लामो समय विरोध प्रदर्शन भएपछि संवैधानिक अदालतले प्रधानमन्त्री पदबाट सिनावात्रालाई बर्खास्त गरिदियो । त्यसअघि सिनावात्राका दाई समेत रहेका पूर्वप्रधानमन्त्री थाक्सिन सिनात्रावालाई भ्रष्टाचारको आरोप लागेको थियो भने पक्राउ पर्ने डरले देश छोडेका थिए । पछि अदालतले यिन्लकलाई बर्खास्त गरेको केही दिनमा सैनिकले सत्ता कब्जा ग¥यो जसको नेतृत्व प्रयुत चान ओचाले गरे । त्यसयता लगातार सत्तामा रहेको सेनाले गत वर्ष आम निर्वाचन गराए पनि निर्वाचनबाटसमेत सैनिकलाई नै सत्तामा स्थापित गरिदिएको छ ।
पाकिस्तान
ब्रिटिश शासनबाट सन् १९४७ मा भारतसँगै स्वतन्त्र भएको पाकिस्तानमा पछिल्लो पटक सन् १९९९ मा तत्कालीन सेना प्रमुख जनरल पर्वेज मुशर्रफले कु गरे । एक वर्षअघि मात्रै तत्कालीन प्रधानमन्त्री नवाज शरिफबाट सेना प्रमुखको नियुक्ति बुझेका मुशर्रफले उनै प्रधानमन्त्री शरिफलाई सत्ताबाट हटादिए । त्यसपछि झण्डै ८ वर्ष उनले सत्ताको नेतृत्व गरे । सत्ता र न्यायालयबीचको तानातान चलिरहँदा उनले सन् २००७ मा तत्कालीन प्रधानन्यायाधीश इफ्तिकार मोहम्मद चौधरीलाई बर्खास्त गरेपछि मुशर्रफको शासन ओरालो लागे । निर्वासित बनेका नजाव शरिफ स्वदेश फर्किएर आन्दोलन चर्काए । अन्ततः मशर्रफ शासन मात्र नभई युग नै ढल्यो । गत वर्ष मुशर्रफको निधन भयो ।
एसियाली मुलुक भुटानमा राजतन्त्र छ, जहाँ जनताले चाहेको भन्दा पनि राजाले चाहेको व्यक्ति प्रशासनिक संयन्त्रको नेतृत्वमा पुग्ने गरेको छ । श्रीलंका र माल्दिभ्स पूर्णरुपमा सैन्य शासनमा छैनन्, तर यहाँ पूर्णरुपमा लोकतन्त्र बहाली भइसेको देखिँदैन । किनकी यी दुवै देशको सत्ता सञ्चालनमा सेनाले देखिने गरी भूमिका निर्वाह गरिरहेको पाइन्छ । अफगानिस्तानले विद्रोहदेखि विद्रोहसम्मको इतिहास बोकेको छ । अहिले पनि तालिबान नामक विद्रोही सैन्य समूहले अफगानिस्तानको नेतृत्व गरिरहेको छ ।
एसियाका औषत आर्थिक अवस्था भएका देशमा राजनीतिक अस्थिरतासँगै सैन्य हस्तक्षेप हुने गरेको छ । नेपालमा पनि यस्ता हस्तक्षेपबारे पटकपटक चर्चा भइरहन्छ । तत्कालीन राजा ज्ञानेन्द्रले आफ्नो शासनकालमा २०६१ माघ १९ गते देशमा सेना परिचालन गरी सम्पूर्ण शासनसत्ता हातमा लिनुभएको थियो । तर राजाकै शासन भएकाले त्यसलाई सैन्य कु भनिएन । त्यसयताका कतिपय संयोगमा समेत सैन्य बादल लागेको देखिन्छ, तर वर्षा भने भइसकेको छैन ।