काठमाडौं । चितवनको भरतपुरमा निर्माण रोकिएको तीन वर्षपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला पुनःनिर्माण सुरु भएको छ । भरतपुर महानगरपालिका १५ मा बन्दै गरेको रंगशाला धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण सुरु गरेपनि आर्थिक अभाव भएको भन्दै बिचैमा छोडेको थियो । भरतपुर महानगरपालिकाले सम्झौता गरेपछि रंगशाला निर्माण हुनेभएपछि स्थानियमा फेरी उत्साह जगाएको छ ।

३० महिनाभित्र निर्माण सक्ने गरी निर्माण कम्पनी र भरतपुर महानगरपालिकासँग असार २३ गते सम्झौता भएको छ । सम्झौता अनुसार रंगशाला निर्माणको काम २०८३ पुस अन्तिमसम्म सक्नुपर्नेछ । रंगशाला निर्माणको लागत भ्याट र पीएस सहित ७५ करोड ५० लाख ९१ हजार १८९ रुपैयाँ रहेको छ । तीन तहको सरकारको साझेदारीमा बन्न लागेको रंगशाला समयमा नै निर्माण सम्पन्न हुने भरतपुर महानगपालिका प्रमुख रेनु दाहालले बताउनुभयो ।

हिमालयन कालीञ्चोक बीबीआर जेभीले सम्झौता पश्चात निर्माण सुरु गरेको छ । रंगशाला निर्माणस्थलमा साइट अफिस स्थापना गर्ने, मैदानको सरसफाइ गर्ने जस्ता काम गरिसकेको निर्माण कम्पनीले आवश्यक उपकरण पनि ल्याउँदै छ । निर्माणका लागि आवश्यक बालुवा, गिट्टी र इट्टा तथा रडको ल्याब परीक्षण सुरु गरेको बीबीआर निर्माण कम्पनीका अध्यक्ष विकास गौतमले बताउनुभयो ।

भरतपुर महानगरपालिका १५ रामपुरमा बन्न लागेको रंगशालामा १५ हजार दर्शक अट्ने प्याराफिटसहित ५ वटा पिच बनाइँदैछ । निर्माणस्थलमा सहजीकरणका लागि महानगरपालिकाको प्राबिधिक टोलि पनि निर्माणस्थलमा रहने छ । भरतपुर महानगरपालिकाका उपनिर्देशक जगन्नाथ अर्यालले रंगशाला निर्माणका लागि यो आर्थिक वर्ष संघीय सरकारले २५ करोड र भरतपुर महानगरपालिकाले ४ करोड ८० लाख बजेट विनियोजन गरेको जानकारी दिनुभयो । निर्माण लागतको ७० प्रतिशत बागमती प्रदेश सरकारले बजेट बिनियोजन गर्ने छ । रंगशालाका लागि बागमती प्रदेश सरकारले ५२ करोड ५० लाख रुपैयाँ दिने भएको छ ।

भरतपुर महानगरपालिकाका वरिष्ठ ईञ्जिनियर सन्तोष आचार्यका अनुसार पहिला निर्माणभएको संरचनामा केही परिवर्तन नगरी सुरुमा जस्तो डिपिआर बनेको थियो । केही दिनअघि भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल तथा प्राविधिकसहितको टोलीले निर्माण कम्पनीका प्रतिनिधिसहित रंगशालाको अनुगमन गरेर यथाशक्य छिटो निर्माणको काम सुरु गर्न निर्माण कम्पनीलाई अनुरोध गरेका थिए ।

धुर्मस सुन्तली फाउण्डेशनले बनाउन सुरु गरेको रंगशाला बजेट अभाव भएको भन्दै २०७८ साउन २२ गतेबाट पूर्ण रुपमा काम रोकिएको थियो । त्रिभुवन विश्वविद्यालयको नाममा रहेको तथा कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गरेको २० विघा १९ कट्ठा जग्गामा रंगशालाको बनिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय