काठमाडौं । उपत्यकासहित देशका अधिकांश भू–भागमा गएरातिदेखि अविरल वर्षा भइरहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालतर्फ सर्ने क्रममा रहेकाले विभिन्न ठाउँमा भीषण पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभाग बुधबारसम्म निरन्तर वर्षा हुने भन्दै ३४ जिल्लामा खतराको चेतावनी ‘रेड अलर्ट’ जारी गरेको छ । विभागले मनसुनी वर्षाका कारण बाढी र पहिरोको उच्च जोखिममा रहेका जिल्लामा कोशी प्रदेशको ताप्लेजुङ, पाँचथर, संखुवासभा र तेह्रथुम देखिन्छ भने बागमती प्रदेशमा रसुवा, चितवन, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट र दोलखा रहेको छ ।
गण्डकी प्रदेशका म्याग्दी, बाग्लुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व, लमजुङ र गोरखा छन् भने लुम्बिनी प्रदेशमा कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, नवलपरासी पश्चिम, दाङ, बाँके, बर्दिया, प्यूठान र अर्घाखाँची उच्च जोखिममा छन् । सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी र बैतडी वर्षाको उच्च जोखिममा रहेको विभागले जनाएको छ ।
रातिको समयमा मनसुन बढी सक्रिय भई पानी धेरै पर्ने सम्भावना रहेकाले दुई दिन उच्च सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ ।