सुनसरी, झापा र मोरङमा लागुऔषधसहित ५ जना पक्राउ परेका छन् । सुनसरीको भोक्राहानरसिंह गाउँपालिका–६ प्रभुदेवा चोकबाट अवैध लागूऔषध खैरो हेरोइन २ ग्राम ६० मिलिग्रामसहित २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रामधुनी नगरपालिका–३ झुम्का बस्ने १९ वर्षीय रुपेश चौधरी र उत्सव चौधरी रहेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेको को.१९ प १३१८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई इलाका प्रहरी कार्यालय लौकही र लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
यस्तै झापाको भद्रपुर नगरपालिका–९ निन्दा खोलाको पुलबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्राम ७ सय ९० मिलिग्रामसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोहीका ४६ वर्षीय अरेन्जय राजवंशी र २५ वर्षीय कृष्ण राई रहेका छन् । भारतबाट घोडामारातर्फ साइकलमा आउँदै गरेका उनीहरूलाई प्रहरी चौकी घोडामारा र ज्यामिरगढीबाट खटिएको प्रहरीले पक्राउ गरेको हुन् ।
यसैगरी मोरङ पथरी शनिश्चरे नगरपालिका–८ दोलु शुक्रबारे बस्ने २५ वर्षीय दिपेश माझी अवैध लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले माझीको घर तलासी गर्दा करिब २ ग्राम जति ब्राउनसुगर बरामद गरेको थियो ।
प्रहरीले पाँचै जनालाई हिरासतमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।