काठमाडौं । पहिलो पटक दक्षिण अफ्रिकामा भेटिएको कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट ओमिक्रोनको त्रास विश्वभर फैलिएको छ ।
जोखिम न्यूनिकरणका लागि नेपालले दक्षिण अफ्रिका, हङकङसहित ९ देशबाट आउने नागरिकलाई प्रवेशमा रोक लगाउने निर्णय गरिसकेको छ । जोखिम नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न आफ्ना नागरिलाई अनुरोध समेत गरिसकेको छ ।
अन्य देशका नागरिकको हकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र नेपाल–भारत सीमा नाकाहरुमा परीक्षण गर्ने व्यवस्था गरिएको छ । नयाँ भेरियन्टको जोखिमबारे विश्वभर चासो बढीरहेको सन्दर्भमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनसँग गरिएको कुराकानीको संक्षिप्त अंशः
नेपालमा ओमिक्रोन भेरियन्टको जोखिम कति छ ?
यो भेरियन्टको जोखिम छ र निरन्तर रहन्छ नै । किनभने भारतमा पनि यो भेरियन्ट फेला परिसकेको छ । त्यसैले अहिले हामी सचेत भएर स्वास्थ्य सुरक्षाको मापदण्डहरु पूर्ण रुपमा पालना गर्नुपर्ने जरुरी देखिएको छ ।
तर जोखिम छ भन्दैमा धेरै आत्तिने, तर्सिने पनि गर्नुभएन । दक्षिण अफ्रिकी चिकित्सकहरुको अनुभव सुन्दा धेरै कडा देखिएको छैन कि भन्ने पनि छ । इजरायल, भारत लगायतका मुलुकमा संक्रमण पुष्टि भएका व्यक्तिहरुको अवस्था पनि सामान्य नै भएको सुनिन्छ । यद्दपि यो प्रारम्भिक अवस्था हो । पछि धेरै कुराहरु थाहा होला ।
अहिले धेरै कुरा जानकारीमा नआएको र प्रारम्भिक अवस्थालाई आधार मान्ने हो भने तर्सिनुपर्ने अवस्था छैन । तर नतर्सिने हो भने कसरी सतर्कता अपनाउँछन् भन्ने प्रश्नहरु पनि उठिरहेको हुन्छ । उदाहरणको लागि म गाडी चलाउने ड्राइभर हो भने म डराइ–डराइ गाडी चलाउन सक्दिनँ । तर यताबाट बस आउँछ, यताबाट मोटरसाइकल आउँछ भनेर सतर्क हुँदै चलाउनुपर्ने हुन्छ । यसरी नै संक्रमण हुनसक्छ कि भनेर होसियारी पूर्वक सतर्कता अपनाउने हो ।
बाँकी आगामी दिनमा नयाँ भेरियन्टहरुले कस्तो हर्कत देखाउँछ त्यसैको आधारमा भन्न सकिने भयो । उपायहरु पनि त्यसरी नै खोज्नुपर्ने अथवा अपनाउनुपर्ने हुन्छ ।
जोखिम कुन माध्यामबाट बढी हुनसक्छ ?
पहिलो त नाकाहरुबाट बढी जोखिम छ भन्ने बुझ्नुपर्ने हुन्छ । त्यसमा विशेषगरी अन्तर्राष्ट्रिय विमानस्थल, नेपाल भारतसँग सीमाको कुरा आउँछ । यसमध्ये अझ बढी जोखिम नेपाल भारत सीमाका कारण चुनौती छ मेरो बुझाइमा । योभन्दा अघिल्लो भेरियन्टहरु पनि धेरै प्रयासका बावजुद पनि सीमाबाट भित्रिएको यथार्थ छ ।
मेरो बुझाइमा अरु देशबाट अहिले तत्काल आउने सम्भावना छैन । किन छैन भन्दा संक्रमण फैलिसकेको अवस्था छैन । दक्षिण अफ्रिकाबाट फैलिएको संक्रमण धेरै देशमा फैलिएको छैन । त्यहाँबाट आउनेले भित्र्याउने जोखिम कम छ । भारतमा पनि देखिएकाले अहिले हामी सीमा नाकाबाटै बढी जोखिममा छौं ।
भारतमा पनि देखिएकोले हामी बढी जोखिममा हो ?
हो । हाम्रो विगतको पाठले भारतीय सीमाबाट बढी जोखिम छ भन्ने देखाउँछ । यदि भारतमा तीव्र गतिमा फैलन थाल्यो भने त हाम्रो नेपाली भारतीयहरु सजिलै आउजाउ गर्नेछ । तोकिएकै नाकाबाट आउजाउ हुन्छ भन्ने पनि छैन ।
त्यसैले सरकारी तवरबाटै विगतको कमजोरीहरुको समीक्षा गरेर हामीले दीर्घकालीन उपाय, योजनाहरु अपनाउनुपर्छ । किनभने अहिले नै यो रोकिनेवाला छैन । विभिन्न उपाय तथा योजनाले नै धेरै हदसम्म नियन्त्रण गर्न सम्भव हुन्छ ।
अहिलेको नयाँ भेरियन्टको जोखिम कुन उमेर समूहमा बढी छ, भन्न सकिन्छ ?
नेपाल लगायत कतिपय देशहरुले ६० वर्ष भन्दा माथिकालाई जथाभावी नहिँड्नु भनेको छ । तर अहिलेको नयाँ भेरियन्टको बारेमा धेरै कुरा बाहिर आएको छैन । तर अहिले आइरहेको समाचारहरुको आधारमा युवामा पनि संक्रमण भएको भन्ने आइरहेको छ । तर कुन उमेर समूह अथवा स्वास्थ्य अवस्था कस्तो भएकालाई जोखिम छ भन्ने चाहिँ यकीन तथ्यांक नआएकाले यही उमेर समूह अथवा यस्तो स्वास्थ्य अवस्था भएकालाई जोखिम छ भन्नु चाहिँ अलि हतार हुन्छ ।
तर सामान्य भाषामा ज्येष्ठ नागरिकहरु शारीरिक रुपमा कमजोर, दीर्घरोगी, हुने भएकोले संक्रमणले त्यस्तै व्यक्तिहरुलाई च्याप्ने भएकाले जोखिम हुन्छ । त्यसैले यही उमेर समूह भन्न नसके पनि जो कमजोर हुनुहुन्छ, उहाँहरु आफैंले ध्यान पु¥याउनुपर्ने हुन्छ ।
अहिले कोरोना संक्रमण दर कम हुँदै गइरहेकाले सभा–सम्मेलन शुरु भएको छ । कत्तिको चुनौती छ ?
हो । नयाँ भेरियन्टको जोखिम देखिएको बेला कोरोना संक्रमणको गति ओरालो लागेको छ । यो एकै पटक भइदियो । संक्रमण दर ओरालो लागेकै कारण मानिसहरुमा केही नहोला भन्ने बुझाइ बढ्दै गइरहेको छ । जसले गर्दा जनस्वास्थ्य मापदण्डहरु पनि अपनाउन कम हुँदै गएको छ । त्यस्तै विभिन्न राजनीतिक सभा, सम्मेलनहरु पनि सामान्य समय जसरी भइरहेको देखिन्छ । स्वास्थ्य सुरक्षाका मापदण्डहरु पनि सही तरिकाले अपनाएको देखिँदैन । यी सबै जोखिमका कारकहरु हुन् । यसले समस्याहरु निम्तिन सक्छ । निक्कै चुनौती थपिएको छ ।
कोरोनाविरुद्घको खोप लगाएकाहरु कत्तिको जोखिममा छन् ?
खोप लगाए पनि उ संक्रमित हुनसक्छ र अरुलाई पनि संक्रमण सार्न सक्छ भन्ने सबैलाई थाह भएकै कुरा हो ।
अर्को मुख्य कुरा के हो भने हाम्रो देशमा धेरै मान्छेले खोप लगाउन बाँकी छन् । खोप लगाउने वित्तिकै एन्टीबडी बन्छ भन्ने पनि छैन । खोप लगाएको ६÷७ महिना पार गर्दै गर्दा एन्टीबडीको स्तर पनि खस्किँदै गएको हुनसक्छ ।
ओमिक्रोन नआएता पनि हामीले खोप लगाएकाले पनि विशेष ध्यान किन दिनुपर्छ भने धेरैले खोप लगाउन बाँकी छ, लगाउन वित्तिकै सतप्रतिशत शरीरमा एन्टीबडी बन्छ भन्ने जरुरी छैन । हामीले लगाएका खोपहरुको अवधि बढ्दै जाँदा एन्टीबडी कम हुँदै जान्छ भन्ने कुराहरु पछिल्लो अनुसन्धानहरुले देखाइरहेको छ । त्यसैले पनि खोप लगाए पनि स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्ण रुपले अपनाउनुपर्छ ।
खोप लगाएका व्यक्तिमा पनि संक्रमण हुनसक्छ । हामीले ‘ब्रेक थ्रु केश’ भन्छौं त्यो व्यक्तिले खोप नलगाएकालाई सार्न सक्ने सम्भावना रह्यो । खोप लगाउँदा लगाउँदै पनि एन्टीबडी नबन्ने समूहमा पर्न पनि सक्छ । त्यसैको आधारमा अमेरिकामा बुस्टर डोजको पनि सुरुवाती भइसकेको अवस्था छ । वेवास्ता गर्ने अवस्था छैन ।
अर्को कुरा खोपले कामै नगर्ने भन्ने पनि होइन । डेल्टा भेरियन्ट आउँदा पनि खोपले काम गर्दैन कि भन्ने आशंका गरिएको थियो तर म स्वयं इमरजेन्सीमा बसेर आएका विरामीहरुको अवस्था बुझ्दा खोप नलगाएकाहरु भर्ना भएका थिए । त्यसको मतलब खोप लगाएकाहरुलाई जटिल अवस्था आएको भेटिन । त्यो भएको प्रभावकारीता नहुने भन्दा पनि खस्किन सक्ने सम्भावना छ ।
नियमित स्वास्थ्य सुरक्षाको मापदण्ड बाहेक अरु के सर्तकता अपनाउन सकिन्छ ?
स्वास्थ्य सुरक्षाका उपायहरु उही हो । खाली यसले खोपलाई छल्ने क्षमता विकास ग¥यो किन गरेन अरु संक्रामक भयो अथवा घातक भयो कि भन्ने चासो हुन्छ । तर बच्ने उपायहरु त एउटै हो । जुन हामीले सुन्दै, लेख्दै, पढ्दै आएका बच्ने उपायहरु छ, त्यसलाई व्यवहारमा सही तरिकाले लागू गर्न सक्नुपर्छ । हामीले डेल्टा भेरियन्ट अथवा त्यो भन्दा अगाडि संक्रमणबाट बच्न जुन उपाय अपनाएका थियौं, त्यसलाई निरन्तरता दिनुपर्छ ।