ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा पुगेर भगवान श्रीकृष्णको दर्शन गरी पूजाआराधना गर्नुभएको छ । राष्ट्रपति पौडेलले श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा पाटन दरबारस्थित कृष्णमन्दिरमा पूजाआराधना गरी फूल प्रसाद ग्रहण गर्नुभयो ।
प्रसाद ग्रहणसँगै राष्ट्रपति पौडेलले मंगहिटीको अवलोकन गर्नुभएको थियो । श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा राष्ट्रप्रमुख हरेक वर्ष कृष्ण मन्दिरमा दर्शन गरी पूजाआजा गर्ने परम्परा रहेको छ । भगवान् श्रीकृष्णको जन्म भएको सम्झनामा देशैभरका कृष्णमन्दिरहरुमा भक्तजनको घुइँचो लागेको छ ।
यसअघि कृष्णमन्दिर परिसरमा राष्ट्रपति पौडेललाई ललितपुरबाट निर्वाचित संघीय सांसदहरु, बागमती प्रदेशसभा सदस्यहरु, ललितपुरका प्रमुख जिल्ला अधिकारी, ललितपुर महानगरका कार्यवाहक प्रमुखलगायतले स्वागत गर्नुभएको थियो ।