– एमालेको नयाँ विधानअनुसार १९ पदाधिकारी केन्द्रीय सचिवालयमा रहन्छन्, उनीहरू र थपिने २६ केन्द्रीय सदस्यसहितको ४५ सदस्यीय स्थायी समिति बन्नेछ

– ९९ सदस्यीय पोलिटब्युरो सदस्यमा ४५ जना स्थायी समिति सदस्य स्वतः हुनेछन्, बाँकी ५४ जना पोलिटब्युरो सदस्यका लागि नवौँ महाधिवेशनबाट निर्वाचित र पछि मनोनीत सबै केन्द्रीय सदस्य दाबेदार

दशौँ महाधिवेशन सकिएलगत्तै एमालेले स्थायी समिति र पोलिटब्युरो गठन गर्ने आन्तरिक गृहकार्य सुरु गरेको छ । पदभार ग्रहण गरेलगत्तै अध्यक्ष केपी ओलीले महासचिव शंकर पोखरेल र निकट नेताहरूमार्फत दुवै तहका कमिटीमा पर्ने नेताहरूको प्रारम्भिक सूची निर्माणको गृहकार्य अगाडि बढाएका छन् । ओलीसहित १९ पदाधिकारीले १७ मंसिरमा पदभार ग्रहण गरेका थिए ।

महाधिवेशनबाट तीन सय एक सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरे पनि नयाँ विधानले केन्द्रीय सचिवालय र स्थायी समितिलाई नै कामकाजी कमिटी बनाएको छ । सचिवालयको हरेक महिना, स्थायी समितिको तीन महिना र केन्द्रीय कमिटीको ६ महिनामा कम्तीमा एकपटक बैठक बस्ने विधानमा व्यवस्था छ ।

नयाँ विधानअनुसार १९ जना निर्वाचित पदाधिकारी सचिवालय कमिटीमा हुनेछन् भने थपिने २६ केन्द्रीय सदस्यसहितको ४५ सदस्यीय स्थायी समिति बन्नेछ । त्यस्तै, ९९ सदस्यीय सदस्य पोलिटब्युरो गठन हुनेछ । एमालेले २५ र २६ मंसिरमा बोलाइएको केन्द्रीय कमिटीको दोस्रो बैठकबाटै स्थायी समिति र पोलिटब्युरो गठन गर्ने एजेन्डा बनाइसकेको छ । १४ मंसिरमा सम्पन्न पहिलो बैठकबाटै एमालेले दोस्रो बैठकको कार्यसूची तय गरेको थियो ।

केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले अब बस्ने केन्द्रीय कमिटी बैठकबाटै स्थायी समिति र पोलिटब्युरो गठनको एजेन्डा तय भइसकेको र त्यसका लागि आन्तरिक गृहकार्य चलिरहेको संकेत गरे । ‘अब बस्ने केन्द्रीय कमिटी बैठकबाट स्थायी समिति र पोलिटब्युरो गठन गर्ने एजेन्डा तय भइसकेको छ,’ तामाङले भने, ‘विधानले स्थायी समिति सदस्यको योग्यता निर्धारण गरेका कारण ती कमिटीमा योग्यता पुगेका नेता नै चयन हुनुहुनेछ ।’

विधानको धारा ६३ मा केन्द्रीय कमिटीमा न्यूनतम एक कार्यकाल बिताएका केन्द्रीय सदस्य स्थायी समिति र पदाधिकारीको उम्मेदवार बन्नयोग्य हुने योग्यता तोकिएको छ । विधानमा यस्तो व्यवस्था भए पनि यसअघि स्थायी समिति सदस्य रहिसकेका र पोलिटब्युरो सदस्य भइसकेका नेतालाई पहिलो प्राथमिकतामा राखेर स्थायी समिति सदस्यको प्रारम्भिक सूची बनाउने क्रम चलिरहेको अध्यक्ष ओलीनिकट एक नेताले बताए । ‘विधानअनुसार त स्थायी समितिकै लागि सयभन्दा बढी नेता योग्य देखिनुहुन्छ,’ उनले भने, ‘त्यसैले विधानलाई न्यूनतम आधार मान्ने, तर सिनियरलाई नै पहिलो प्राथमिकताको मापदण्डभित्र पारेर प्रारम्भिक सूचीमा अनौपचारिक छलफल सुरु भएको छ ।’

४५ सदस्यीय स्थायी समितिमा १९ जना पदाधिकारीबाहेक दशौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यमध्येबाट २६ जना चुनिनेछन् । तीमध्ये महाधिवेशनमा पदाधिकारीमा पराजित नेताहरू भीम रावल, घनश्याम भुसाल र भीम आचार्य स्थायी समितिका लागि अध्यक्षको प्रस्तावित सूचीमा स्वाभाविक पर्ने नेताहरू हुन् । तर, रावल केन्द्रीय सदस्यमा पनि पराजित भएकाले उनलाई अबको केन्द्रीय कमिटी बैठकमै केन्द्रीय सदस्य मनोनयन गरेर स्थायी समिति सदस्य बनाउने कि नबनाउने विषय टुंगो लागेको छैन । रावलले भने केन्द्रीय सदस्यका लागि अनिच्छा देखाउँदै आएका छन् ।

पुराना नेता भएकाले सचिवमा पराजित टंक कार्की पनि दाबेदारभित्रै पर्छन् । त्यस्तै, यसअघि नै स्थायी समिति सदस्य रहेका रघुजी पन्त, किरण गुरुङ र मणि थापा दशौँ महाधिवेशनअघिसम्म स्थायी समिति सदस्य रहेकाले उनीहरू समेटिने सम्भावना बलियो छ । पूर्वमाओवादी समूहबाट प्रभु साह, गौरीशंकर चौधरी, श्रीप्रसाद जबेगू, टंक आङबोहाङलगायत नेतालाई दाबेदारका रूपमा हेरिएको छ ।

उनीहरूबाहेक कम्तीमा एकपटक पोलिटब्युरो सदस्य भइसकेका नेताहरू स्थायी समिति सदस्यका लागि बलियो दाबेदार छन् । जसअनुसार अरुण नेपाल, काशीनाथ अधिकारी, खगराज अधिकारी, परशुराम मेघी गुरुङ, अग्नि खरेल, भानुभक्त ढकाल, यामलाल कँडेल, विन्दा पाण्डे, श्रीमाया थकाली र थममाया थापा स्थायी समिति सदस्यका लागि अनौपचारिक छलफलको सूचीमा छन् ।

त्यस्तै, वैकल्पिक पोलिटब्युुरो सदस्य रहिसकेका कर्ण थापा, जगत विश्वकर्मा, गोरखबहादुर बोगटी, गोकुल घर्तीमगर, दलबहादुर राना र शेरधन राईलाई पनि दाबेदारका रूपमा लिइएको छ । अध्यक्ष ओलीले पदाधिकारीमा समेट्न नसकेका युवा पुस्ताका केही नयाँ अनुहारलाई पनि स्थायी समितिमा समेट्ने सम्भावना छ ।

केन्द्रीय सदस्यहरू कृष्णगोपाल श्रेष्ठ, हिक्मत कार्की, गोकुल बाँस्कोटा, गुरु बराल, आनन्दप्रसाद पोखरेल, पार्वत गुरुङ, शेरबहादुर तामाङ, महेश बस्नेत र डा. राजन भट्टराईमध्येबाट स्थायी समिति सदस्य छानिन सक्ने ओलीनिकट नेताको दाबी छ । ‘तर, उहाँहरू पहिलो प्राथमिकतामा हुनुहुन्न, तैपनि केन्द्रीय सदस्यमध्येबाट एक–दुईजनालाई भए पनि बनाउने सोचमा हुनुहुन्छ,’ ती नेताले भने ।

उता, नवौँ महाधिवेशनमा उपाध्यक्षमा पराजित नेता लालबाबु पण्डितलाई पनि स्थायी समितिमा समेट्नुपर्ने दबाबमा ओली छन् । पदाधिकारीमा नपरेपछि केन्द्रीय कमिटीमा उम्मेदवारी नै नदिई चितवनबाट काठमाडौं फर्किएका पण्डितलाई स्थायी समिति सदस्य बनाउने प्रस्ताव आए रावललाई जस्तै उनलाई पनि केन्द्रीय कमिटी सदस्य मनोनयनका लागि प्रस्ताव गर्नुपर्ने हुन्छ । पार्टीभित्र र बाहिर राम्रो व्यक्तित्वका रूपमा परिचय बनाएका कारण पण्डितलाई स्थायी समितिमा समेट्नैपर्ने दबाबमा ओली छन् ।

एक कार्यकालका केन्द्रीय सदस्य पोलिटब्युरोमा दाबेदार

९९ सदस्यीय पोलिटब्युरो सदस्यमा ४५ जना स्थायी समिति सदस्य स्वतः हुनेछन् । बाँकी ५४ जना पोलिटब्युरो सदस्यका लागि नवौँ महाधिवेशनबाट निर्वाचित र पछि मनोनीत सबै केन्द्रीय सदस्यलाई दाबेदारका रूपमा हेरिएको छ । जसअनुसार खिमलाल भट्टराई, यज्ञराज सुनुवार, ईश्वरी रिजाल, गणेश पहाडी, विष्णु रिजाल, ठाकुर गैरे, नीरज आचार्य, नारदमुनि राना, सूर्य थापा, माधव ढुंगेल, विना श्रेष्ठ, डम्बरसिंह सम्बाहाम्फे, हरिबहादुर राई, रामचन्द्र मण्डल, प्रभु हजरा, कमलादेवी महतो, ज्वालाकुमारी साह, जितु गौतम, गोविन्द नेपाली, बैजनाथ चौधरी पोलिटब्युरो सदस्यका दाबेदार छन् ।

यसबाहेक विनोद श्रेष्ठ, कमल चौलागाईं, कृष्णप्रसाद दाहाल, गणेशसिंह ठगुन्ना, गिरिधारीलाल न्यौपाने, जीवन घिमिरे, झपट रावल, देवी ज्ञवाली, पुरुषोत्तम पौडेल, प्रकाश शाह, माधव अर्याल, रबिन कोइराला, रवीन्द्र अधिकारी, राजेन्द्र गौतम, रामेश्वर फुँयाल, सोम मिश्र, गौरीकुमारी ओली, डा. शिवमाया तुङ्बाहम्फे, निरुदेवी पाल, ममता गिरी, भगवती चौधरी, शान्ता चौधरी, सुशीला नेपाललगायत बलियो दाबेदार देखिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय