बुटवलमा लुम्बिनी प्रादेशिक अस्पतालको १२ तले सुविधा सम्पन्न भवनको शिलान्यास गरिएको छ । शनिबार बिहान उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो भवनको शिलान्यास गर्नुभएको हो । २०८० सालमा ठेक्का सम्झौंता भएर निमाण सुरु भएको अस्पतालमा आज शिलान्यस गरिएको हो । ६ अर्ब १८ करोड बढीको लागतमा निर्माण हुने सो अस्पताल लुम्बिनी प्रदेशको ड्रिम प्रोजेक्ट हो । प्रदेशको गौरवको आयोजनाको रूपमा रहेको प्रादेशिक अस्पताल नयाँ भवन निर्माण प्रक्रिया अघिल्लो आर्थिक वर्षमा सुरु भए पनि भवनको औपचारिक शिलान्यास भएको थिएन । अर्थमन्त्री पौडेलले आफू राजनीति भन्दा माथि उठेर सत्ता पक्ष र प्रतिपक्ष नभनी सबैसंग हातेमालो गरेर रुपन्देहीलाई विकासमा नमूना बनाउन चाहेको बताउनु भयो ।
प्रदेश सरकारका चार वटा गौरवको आयोजनामध्ये लुम्बिनी प्रादेशिक अस्पताल निर्माण पनि महत्वपूर्ण आयोजना हो । २०७६ सालमा तत्कालीन सरकारले ड्रिम प्रोजेक्टको रूपमा सो अस्पताल भवन निर्माणको कामलाई अघि बढाउने प्रक्रिया थालेको थियो । लुम्बिनी प्रदेशका बिरामी विशेषज्ञ उपचार सेवा लिन काठमाडौँ जानुपर्ने बाध्यताको अन्त्य गर्नेगरी सो अस्पताललाई एक हजार दुई सय र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरलाई ६ सय श्ययाको अस्पताल बनाउने प्रक्रिया अघि बढेको थियो । प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पतालको लागि चालू आर्थिक वर्षमा एक अर्ब ८० करोड बजेट समेत विनियोजन गरेको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जानकारी दिनुभयो ।
लुम्बिनी प्रदेश सरकारको लागतमा टेन्डर प्रक्रिया सम्पन्न भई पुरानो संरचना हटाएर नयाँ संरचना निर्माणको काम समेत सुरु भएको छ । अस्पताल भवन निर्माणका लागि प्रदेश पूर्वाधार विकास प्राधिकरणले ६ अर्ब १८ करोड ७५ लाख रुपैयाँको लागतमा ठेक्का सम्झौता गरेको छ ।भारतीय निर्माण कम्पनी क्याप साइट आशिष रेलिग्रेट भेन्चरले नेपाली कम्पनी आशिष रेलिगशनसँग संयुक्त रूपमा काम गर्ने गरी २०८० पुस २६ गते सम्झौता गरेको थियो । सम्झौताअनुसार २०८५ साल पुससम्म अस्पतालको भवन निर्माण सक्नुपर्ने प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छविराज पोख्रेलले जानकारी दिनुभयो । अस्पतालको नयाँ बन्ने भवनमा बहिरङ्ग सेवा (ओपिडी), आपतकालीन सेवा ९इमर्जेन्सी०, इनडोर सर्भिस कक्ष रहनेछन् । ग्याष्ट्रो, न्युरो, कार्डियोलोजी लगायतका सबै विशेषज्ञ सेवा एउटै भवनबाट सञ्चालन हुनेछन् ।