घुस रकमसहित पक्राउ परेका पोखरा महानगरपालिकाका इन्जिनियर र बिचौलीयासहित ३ जना दोषी ठहर भएका छन् । घर निर्माणको नक्सा प्रमाणपत्र दिने क्रममा घुससहित पक्राउ परेका इन्जिनियर शिवप्रसाद बराल, सबइन्जिनियर उषाकिरण रोकाया र बिचौलिया सुरज कुँवर विशेष अदालतबाट दोषी ठहर भएका हुन् । विशेष अदालतका न्यायाधीश खुसीप्रसाद थारु र रितेन्द्र थापाको संयुक्त इजलासले उक्त फैसला सुनाएको हो ।
इन्जिनियर बराल र सब–इन्जिनियर रोकायालाई जनही १ लाख ७५ हजार रुपैयाँ जरिवाना र ८ महिना कैद सजाय सुनाएको हो ।घुस दिन मतियारको रूपमा काम गरेका सुरजलाई अदालतले आधा अर्थात् ८७ हजार ५ सय रुपैयाँ जरिवाना र ४ महिना कैद सजायको फैसला सुनाएको छ । गत चैत २८ गते पोखरा १० मा बनेको एक घर सम्पन्नताको प्रमाणपत्र दिने सर्तमा १ लाख ५० हजार घुस लिँदालिँदै सब–इन्जिनियर उषाकिरण र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट रंगेहात पक्राउ परेका थिए ।
त्यसलगत्तै यही प्रकरणमा मुख्य दोषी मानिएका इन्जिनियर शिवप्रसादलाई समेत पक्राउ गरी अख्तियारले अनुसन्धान अगाडि बढाएको थियो । अनुसन्धानका क्रममा नाम जोडिएपछि केही दिनपछि अख्तियारले इन्जिनियर शिवप्रसादलाई पनि पक्राउ गरेको थियो ।यही घुस प्रकरणमा अदालतमा बयान फरेको आरोपमा मुद्दा चलाइएका केशरीप्रसाद तिवारी र उर्मिला पौडेललाई भने सफाइ दिइएको छ ।अनुसन्धानपछि अख्तियारले गत वैशाख २० गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अनुसन्धानका क्रममा घुसबापतको २ लाख रुपैयाँ रकम इन्जिनियर बरालको खातामा गएको देखिएको छ । त्यो रकम जफत गरेर उजुरीकर्तालाई फिर्ता गर्ने फैसला अदालतले गरेको छ ।