रुकुम । रुकुम पश्चिमममा बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ । रुकुम पश्चिममको मुसिकोट नगरपालिका ६ र ७ को सीमानामा रहेको रम्माखोलाले मोटरसाईकल बगाउँदा मोटरसाईकलमा सवार एक पुरुष र एक महिलाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक बखतबहादुर शाहीले मुसिकोट नगरपालिका वडा नम्वर ४ निवासी ५० वर्षीय सर्जन पुन र वडा नम्वर ६ निवासी अन्दाजी ३२ वर्षीया निर्मला केसी थापाको मृत्यु भएको जनाएको हो ।
रा ६ प २९६१ नम्वरको मोटरसाईकलमा साँखबाट कानेबाङतर्फ जाँदै गर्दा आईतबार बेलुका करिब साढे आठ बजे खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।
प्रहरीले मोटरसाईकलसहित दुई जना पुरिएको अवस्थामा भेटिएको जनाएको छ । महिलाको शव सडकदेखी ३ सय मिटर र पुरूषको शव २० मिटर तल भेटिएको थियो ।
आईतबार अत्याधिक वर्षा भएपछि रम्माखोलामा ठुलो बाढी आएको थियो ।