काठमाडौं । कम्प्युटरको दुनियाँमा आर्टिफिसियल इन्टेलिजेन्स एआई अर्थात् ’कृत्रिम बुद्धि’ को प्रयोग र प्रभाव बढ्दै छ । एआईको उदय प्रविधिको क्षेत्रमा यस्तो चमत्कार हो, जसले मानव जीवनको हरेक पक्षमा आश्चर्यजनक प्रभाव पारिरहेको छ । नेपालमा पनि यसको प्रयोग अत्याधिक हुन थालेको छ । अहिले त एआईमा पनि भ्वाइस जेनेरेटर आएको छ । जसमा कुनै एक व्यक्तिका सामान्य आवाजलाई प्रयोग गरेर कुनै गीत निकाल्न सकिन्छ । मनोरञ्जनका रूपमा प्रयोग भइरहेको यो प्रविधिले जोखिम निम्त्याउने आँकलन गर्न थालिएको छ । विश्व नै अहिले एआईसँग सशंकित भइरहँदा एमाले निकट युवा संघले भने एआईबारे जानकारी दिन एआई सम्मेलनको आयोजना गर्यो । नेपाल जस्तो देशमा कृषि र शिक्षामा एआईको प्रयोग गर्न सकिने विषयमा छलफल भए ।
केही समयअघि प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमा शेयर गर्नुभएको सामग्री सुन्दा यस्तो लाग्छ कि ओलीले नै यो गीत गाउनुभएको हो । तर खासमा गीत ओलीले गाउनुभएको होइन । यो एआईको भ्वाइस जेनेरेटर टूलको प्रयोग गरेर उहाँले नै गाए जसरी तयार पारिएको हो । एआईबाट भिडियोहरू र पोडकास्टहरूका लागि यथार्थपरक भ्वाइसओभरहरू सिर्जना गर्नदेखि एप र सफ्टवेयरको पहुँच सुविधाहरूमा सहयोग गर्न थालेको छ । अहिले यही प्रविधिको प्रयोग गरेर नेताहरूको आवाजमा गीतहरू निकाल्न थालिएको हो ।
हुन पनि कसैको आवाज राखेको भरमा सोही आवाजलाई विभिन्न प्रयोजनमा प्रयोग गर्न सकिने भएपनि कुनै पनि नेताले कहिल्यै नबोलेको कुरा पनि यसरी आवाज प्रयोग गरेर बोलेकै जस्तो बनाउन सकिन्छ । यस किसिमको प्रविधिलाई चुनावको समयमा वा समाजमा द्वेष फैलाउन दुरुपयोग हुन सक्छ । नेताको आवाज प्रयोग गरेर सामाजमा द्वन्द्व सिर्जना गर्ने, व्यक्तिको मानमर्दन गर्न सक्ने भएकाले यसतर्फ सचेत हुनुपर्नेछ ।
नेपाल जस्तो मुलुकमा एआईको सदुपयोग गर्ने थुप्रै क्षेत्र छन् । नेपालको कृषि र शिक्षा क्षेत्रमा एआईले भूमिका खेल्न सक्छ । अहिले मनोरञ्जनका रूपमा हेरिएको भएपनि विज्ञ भने एआईको प्रयोगले कृषकहरूलाई खेती प्रणाली सुधार गर्न र कृषि उत्पादन बढाउन महत्वपूर्ण सहयोग पुर्याउन सक्छ । नेपालमा कृषि मुख्य पेशा भएकोले एआई प्रविधिले कृषिमा ल्याउन सक्ने परिवर्तनले देशको अर्थतन्त्र र खाद्यान्न सुरक्षामा सकारात्मक प्रभाव पार्न सक्ने जानकार बताउँछन् ।
एआईलाई डिजिटल नेपाल निर्माणको माध्यम बनाउँदै, यसको सही उपयोग र दुरुपयोग नियन्त्रणका लागि ठोस नीति र कानूनी संरचना आवश्यक छ । एआई प्रविधिलाई दुरुपयोगबाट रोक्न प्रभावकारी कानूनी प्रावधानहरू र प्रविधिको उपयोगमार्फत सुरक्षित डिजिटल वातावरण निर्माण गर्नु अपरिहार्य छ । एआईले नेपाललाई विकासको नयाँ शिखरमा पुर्याउन सक्छ भने गलत प्रयोगमा नपरोस् भन्ने सजगता भने अबको प्रमुख चुनौती हो ।